यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । आउँदो वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपचुनावमा आचारसंहिता विपरीत गतिविधि र क्रियाकलाप भएमा तत्काल कारबाही गर्ने निर्वाचन आयोगले जनाएको छ । आयोगले सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरुपयोग गरेको पाइएमा तत्काल कारबाही प्रक्रिया अघि बढाउने जनाएको हो ।
प्रतिनिधिसभाको इलाम क्षेत्र नम्बर–२ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ क मा हुने उपचुनावका लागि आयोगले गएको चैत २८ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू गरेको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहितामा अन्य विषयका अतिरिक्त सामाजिक सञ्जालबाट गलत, भ्रामक र द्वेषपूर्ण सूचना प्रकाशन तथा प्रसारण गर्न गराउन नहुने, निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्ञालमा एकाउन्ट सञ्चालन गर्न वा झुटा साइट खोल्न वा सञ्चालन गर्न वा गराउन नहुने, निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले कसैलाई होच्च्याउने, भ्रामक सूचना सम्प्रेषण गर्ने तथा टिकाटिप्पणी गर्न, गराउने नहुने व्यवस्था रहेको बताउनुभयो ।