यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । आगामी जेठ १३ गतेदेखि पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ अभियान सञ्चालन गर्ने भएको हो । यसअघि खोप लगाउन छुटेका बालबालिकाले अभियानमा खोप लगाउन पाउनेछन् ।
स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले पोलियो रोगबाट बचाउन देशभरिका करिब १४ लाख ६२ हजार बालबालिकालाई पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ लगाइने जानकारी दिए ।
उनले पोलियो रोगको सङ्क्रमण अझै देखिएकाले अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो । उनका अनुसार विसं २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई उक्त खोप लगाउन लागिएको हो ।
दुई सातासम्म चल्ने अभियानमा पोलियोविरुद्धको खोप ‘आइपिभी’ दिइने जनाइएको छ । सरकारले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ ।