यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । बागमतीमा डेढ वर्षपछि बल्ल संसदीय समिति सभापति चयनको तयारी थालिएको छ । प्रदेश सभा गठन भएको डेढ वर्षसम्म विषयगत समितिहरू नेतृत्वविहीन रहँदै आएका छन् ।
प्रदेश सभाको विषयगत समितिको नेतृत्व चयनका लागि संसद सचिवालयले काम अघि बढाएको छ । सत्ता समीकरण र भागबण्डाका विषय नमिल्दा संसदीय समितिहरू नेतृत्वविहीन रहँदै आएका छन् । बागमती प्रदेश सभा अन्तर्गत ५ वटा विषयगत संसदीय समिति छन् ।
संसद बैठक आह्वान तथा विषयगत समितिको सभापति चयनका विषयमा छलफल गर्न प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले सरकारसँगको समन्वयमा शुक्रबार सर्वदलीय बैठक बोलाएका छन् । सो बैठकमा दलहरूबिच सहमति बनेको खण्डमा समितिको सभापति चयनका लागि प्रक्रिया अघि बढ्ने छ ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलका अनुसार शुक्रबारको बैठकको प्रमुख एजेण्डा समितिको सभापति चयन नै हो । सो विषयमा छलफल गरी टुङ्गोमा पुग्ने गरी सभामुखले छलफलका लागि बैठक बोलाएको उनले बताए ।
२०७९ पुस १४ मा गठित प्रदेश सभाको पहिलो बैठक पुस १८ मा बसेको थियो भने २०८० असार १२ मा संसदीय समितिहरू गठन भएका थिए । ५ वटा संसदीय समिति कायम गरी असार १८ मा समितिका सदस्यहरूको नाम अनुमोदन गरिएको थियो ।
समिति सदस्यहरूबाट ज्येष्ठताका आधारमा चुनिएका अध्यक्षहरूको नेतृत्वमा समितिको बैठक बस्ने गरेको छ । तर प्रभावकारिता र सक्रिय भने हुन सकेको छैन ।
प्रदेश सभामा प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा समिति, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समिति छन् ।