यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्षसमेत रहेका सांसद बुद्धिमान तामाङको नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री पुनलाई भेटी गल्छी धुन्चे– स्याफ्रुबेंसीको वैकल्पिक मार्गका रुपमा धादिङको मलेखु, रुबीभ्याली हुँदै केरुङ जोड्ने सडक निर्माणलाई प्राथमिकतामा राख्न आग्रह गरेको छ ।
धादिङको मलेखु हुँदै केरुङसम्मको सडकको ट्रयाक खोल्ने काम सकिएको जनाउँदै तामाङ नेतृत्वको टोलीले उक्त बाटोको स्तरोन्नतिका लागि आगामी बजेटमा रकम विनियोजन गर्न माग गरेका छन्। धादिङतर्फको बाटो निर्माण हुँदा कुनै कारणले वेत्रावती–धुन्चे–स्याफ्रुबेंसी हुँदै केरुङ सडक अवरुद्ध हुँदा विकल्प खुला हुने राप्रपाको जोड छ ।
पृथ्वी राजर्मागअन्तर्गत मलेखुबाट धादिङ बेसीसम्म १८ किलोमिटर दूरी छ भने त्यहाँबाट उत्तरी धादिङको तिप्लिङ खण्ड ८० किलोमिटर रहेको छ। तिप्लिङदेखि रसुवाको सिमाना सोमताङसम्म २७ र त्यहाँबाट स्याफ्रुबेंसी हुँदै टिमुरेसम्म ४७ किलोमिटर दूरी छ ।
राप्रपाका सांसदहरू ध्रुवबहादुर प्रधान, दीपकबहादुर सिंह, ज्ञानेन्द्र शाही, विना लामा, विना जैसवाल र अनिसा नेपालीसहितको भेटमा अर्थमन्त्री पुनले धादिङको मलेखुबाट रसुवाको स्याफ्रुबेंसी हुँदै रसुवागढी नाका जोड्ने कच्ची सडक बनिसकेको अवस्थामा त्यसको स्तरोन्नतिका बजेट विनियोजन गर्दै वैकल्पिक मार्गका रुपमा विकास गर्न सरकारले आवश्यक योजना अघि सार्ने आश्वासन दिएका छन् ।