|  

प्रमुख श्रेष्ठको सक्रियता : ‘आगलागी भए अब छैन चिन्ता, सरर दमकल आउँछ निभाएर जान्छ…’

११ जेष्ठ २०८१, शुक्रबार १६:४१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । धादिङ गजुरी गाउँपालिकाले अति आबश्यक संयन्त्रको रुपमा रहेको दमकल खरिदको कामलाई अगाडी बढाएको छ ।
आगलागीबाट हुने ठुलो धनजनको क्षतिलाई न्युनिकरण गर्ने मुख्य उदेश्यका साथ दमकल खरिद गर्न लागीएको अध्यक्ष गणेश लाल श्रेष्ठले जानकारी दिनुभयो ।
विपत्को समयमा प्रयोग हुने दमकल, एम्बुलेन्स साथै शववाहन अब गजुरी गाउँपालिकामा चौबिसै घण्टा सेवामा रहनेछन् । अधिकांश स्थानीय निकायले एम्बुलेन्स व्यवस्थापन गरे पनि दमकल र शववाहनको व्यवस्था भने थोरैले मात्रै गरेको देखिन्छ । तर गजुरी गाउँपालिकाले भने यी तीनै उपकरणहरुलाई तयारी गरिरहेको छ ।

आगलागीबाट बर्सेनि यसक्षेत्रमा ठूलो धनजनको क्षति हुँदै आएको छ ।
स्थानीय तह गठन भएको वर्षौं बितिसक्दासमेत दुई नगरपालिका बाहेकले अहिलेसम्म दमकल किन्न सकेका थिएनन् । ११ गाउँपालिका र दुई नगरपालिकासहित १३ वटा स्थानीय तह रहेको धादिङमा अब तीन स्थानिय सरकारसँग मात्र दमकल रहने भएको छ । धुनिबेशी नगरपालिका, निलकण्ठ नगरपालिकामा रहेको दमकल सेवा अब गजुरी गाउँपालिकामा समेत हुने भएको छ । बजारमा वा अन्य कुनै घरमा आगलागी हुँदा दमकल नभएका कारण निकै समस्या हुँदै आएको थियो । धुनिबेशी अथवा धादिङबेशीबाट दमकल ल्याउनुपर्ने बाध्यताको अब अन्त्य हुने भएको छ । पछिल्लो समय सामुदायिक वनमा लागेको आगो शहर तथा बजारमा पस्न थालेपछि दमकलको अभाव खड्किन थालेको स्थानीयवासीहरु बताउँछन् ।
आगलागी नियन्त्रणमा सहयोग पुरियाउने उद्देश्यले दमकल खरिद गर्न आबश्यक रकम विनियोजन भएको गजुरी गाउँपालिकाका कार्यकारी अधिकृत राजु अधिकारीले बताउनुभयो ।
केहि दिन अगाडी मात्र गजुरी गाउँपालिका अध्यक्ष गणेश लाल श्रेष्ठ, सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडा, बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष विवेक थपलिया, गजुरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारीको टोलीले भारतबाट गएर खरिद प्रक्रिया पुरा गरि फर्किएका छन् । अबको केहि दिनभित्र दमकल गजुरी गाउँपालिकामा आई पुग्ने र छिमेकि पालिकालाई पनि सहयोग पुग्नेमा बिश्वास लिएको गजुरी गाउँपालिका अध्यक्ष गणेश लाल श्रेष्ठको भनाई थियो ।

११ जेष्ठ २०८१, शुक्रबार १६:४१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस