|  

गजुरी गाउँपालिका : निती,कार्यक्रम बहुमतले पारित, ६१ करोड ७५ लाख रुपैयाँको बजेट सार्वजनिक !

१० असार २०८१, आईतवार १८:१६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । धादिङको गजुरी गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ ।
गाउँपालिकाको छात्रबास हलमा गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठको अध्यक्षतामा बसेको गाउँकार्यपालिकाको बैठकले पालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको हो ।

वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष श्रेष्ठले कृषिमा बिषेश जोड दिएर बजेट सार्वजनिक गरिएको बताउनुभयो । कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर पालिकाभित्र रहेका युवाहरुलाई स्वरोजगार बनाउँदै कृषिमा छलाङ मार्ने उदेश्य पालिकाले लिएको छ । कृषिमा लगानी गरेर गजुरी गाउँपालिकालाई कृषि पकेट क्षेत्रका रुपमा बिकास गरिनेमा जोड दिईएको छ । साना तथा ठूला उद्योगहरु सञ्चालन गरि त्यसमा रोजगारमुलक अभियान नै चलाउने निती तथा कार्यक्रममा उल्ल्ेख छ । नगदमा आधारित आर्थिक सहायतालाई निरुत्साहित गर्दै सीपका लागी सहायता कार्यक्रम अगाडी बढाईनेछ ।

गजुरी गाउँपालिकाभित्र रहेका पर्यटकियस्थलहरुको पहिचान तथा संरक्षण र प्रचारप्रसारमा जोड दिईने छ । वामचुली, थामभन्ञ्याङ, लामाचिरा, पेटारे, तुँदी झरना लगायतका पर्यटकिय क्षेत्रलाई संरक्षण एवम् प्रचारप्रसार गरिनेछ ।

पालिकाभित्र रहेका बिछडिएका तथा अल्पसंख्यक र गरिवका लागी सहायता कार्यक्रम सञ्चालन हुनेभएको छ । अध्ययन, कला खेलकुदमा अब्बल बनाउन अध्यक्ष, उपाध्यक्षसँग बालबालिका कार्यक्रम सञ्चालन हुनेछ । स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरुलाई पाखा लगाउँदै निशुल्क शिक्षा तथा रोजगारमा बिषेश जोड दिईने जनाईएको छ । गाउँपालिकाले सुचारु गरेका हरेक बिकास निर्माण तथा योजनाहरुलाई पुर्णता दिँदै सुखि नेपाली समृद्ध गजुरीबासिको अभियानलाई सार्थक बनाउँदै अगाडी बढ्ने निती तथा कार्यक्रममा जनाईएको छ ।

धादिङको गजुरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१र८२ को लागि ६१ करोड ७५ लाख १६ हजार ५ सय रुपैयाँको बजेट ल्याएको छ ।
गाउँकार्यपालिको गाउँसभाले आगामी आर्थिक वर्षको अनुमानित आयव्यय विवरण बजेट पारित गरेको हो । गाउँपालिकाका उपाध्यक्ष शर्मिला बिसुरालको स्वास्थ्य अबस्थाका कारण गजुरी वडा नम्बर ३ का अध्यक्ष ऋषिलाल श्रेष्ठले बजेट वक्तव्य प्रस्तुत गर्नुभएको थियो ।

कूल बजेटमध्ये चालुतर्फ ७०.७ प्रतिशत र पुँजीगततर्फ २९.३ प्रतिशत खर्च हुने अनुमान गरिएको छ ।

प्रस्तावित बजेटमध्ये नेपाल सरकारबाट वित्तीय सामान्यीकरण अनुदान स्वरूप रु १३ करोड ८४ लाख, सशर्त सङ्घीय अनुदान स्वरूप रु १९ करोड, ७५ लाख, ४७ हजार ५ सय, नेपाल सरकारबाट राजश्व बाँडफाँडबाट रु १० करोड १७ लाख प्राप्त हुने प्रक्षेपण गरिएको छ ।

त्यसैगरी प्रदेश सरकारबाट वित्तीय सामान्यीकरण अनुदान रु १ करोड४७ लाख, ५६ हजार, प्रदेश सशर्त अनुदान स्वरूप रु २ करोड १६ हजार प्राप्त हुने अनुमान गरिएको छ ।

गाउँपालिकाको आन्तरिक आय वृद्धि गर्न करको दायरालाई फराकिलो बनाउने, सहभागितामूलक कर नीति अवलम्बन गर्ने र आन्तरिक आयको वृद्धि गर्ने लक्ष्यसहित विभिन्न कर, शुल्क तथा दस्तुरहरूको प्रस्ताव अघि सारेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकालाई देशकै नमुना पालिकाको रूपमा स्थापित गर्ने परिकल्पनालाई साकार पार्न आवश्यक आर्थिक विकास, सामाजिक विकास, भौतिक पूर्वाधार विकास, वन तथा विपद् व्यवस्थापन, संस्थागत विकास तथा सुशासनका क्षेत्रहरूलाई मुख्य प्राथमिकतामा राखी समृद्ध गजुरी गाउँपालिका बनाउने दीर्घकालीन सोचलाई साकार पार्न आवश्यकताका आधारमा कार्यक्रमहरू ल्याएको गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले जानकारी दिनुभयो । आजको सभामा बिभिन्न बिधेयकहरु पनि पारित गरिएको थियो ।

१० असार २०८१, आईतवार १८:१६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस