|  

विपद्मा परी २४ घण्टामा १४ जनाको मृत्यु, २ बेपत्ता

१४ असार २०८१, बिहीबार ०८:१९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


असार १३, काठमाडौँ । पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा ४४ वटा विपद्जन्य घटना घटेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा हालसम्म १४ जनाको मृत्यु पुष्टि भएको छ भने दुई जना बेपत्ता छन् ।

प्राधिकरणका प्रवक्ता उपसचिव डा डिजन भट्टराईले ती घटनामा १० जना घाइते भएका र सबै क्षेत्रमा गरेर १९ लाखभन्दा बढी आर्थिक क्षति भएको जानकारी दिए । उनले विभिन्न क्षेत्रका १० ठाउँमा सडक अवरुद्ध भएको र १४ वटा पशु चौपायको क्षति भएको जानकारी दिए ।

प्राधिकरणबाट बुधबार साँझ प्राप्त विवरणअनुसार पहिरोबाट आठ जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । चट्याङबाट पाँच जनाको मृत्यु र तीन जना घाइते भएका छन् । बाढीबाट एक जनाको मृत्यु र दुई जना बेपत्ता भएका छन् । एक घाइते छन् ।

डा। भट्टराईले ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका सेर्नाथुम्कीमा गएको पहिरोमा परी घाइते भएका दुई जनाको हेलिकप्टरबाट उद्धार गरी काठमाडौं ल्याइएको बताए ।

प्राधिकरणका अनुसार विपद्ले बुधबार ओखलढुङ्गा, सङ्खुवासभा, सुनसरी, उदयपुर, इलाम, धनकुटा, लमजुङ, कास्की, मोरङ, झापा, रोल्पा, दैलेख र बागलुङ बढी प्रभावित भएको छ ।

१४ असार २०८१, बिहीबार ०८:१९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस