|  

बागमती र सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्‍वासको मत लिने

२७ असार २०८१, बुधबार १२:०३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


असार २६, काठमाण्डौँ । संघमा सत्ता गठबन्धन बदलिएपछि त्यसैअनुरुप सत्तामा रहेका दलले समर्थन फिर्ता लिँदा बागमती र सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा परेका छन् ।

नेकपा माओवादी केन्द्रबाट बागमती प्रदेशको मुख्यमन्त्री बनेका शालिकराज जमकट्टेल र नेकपा एकीकृत समाजवादीका तर्फबाट सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बनेका दीर्घबहादुर सोडारीले राजीनामा नदिएर विश्वासको मत लिने निर्णय लिएका हुन् । दुबै मुख्यमन्त्रीले विश्वासको मत कहिले लिने भने मिति भने तय गरिसकेका छैनन् ।

१७ असारमा संघमा नेपाली कांग्रेस र नेकपा एमालेबीच संविधान संशोधनसहित सत्तासहकार्य गर्ने ७ बुँदे सहमति भएको थियो । सहमतिसँगै एमालेबाट संघ र प्रदेशमा रहेका मन्त्रीहरू राजीनामा दिएर सरकारबाट बाहिरिएका छन् भने सरकारलाई दिएको समर्थन पनि पार्टीले फिर्ता लिएको छ ।

बागमती र सुदूरपश्चिममा एमाले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीहरू अल्पमतमा परेका छन् । अल्पमतमा परे पनि उनीहरूले संसद्मा विश्वासको मतको परीक्षण गर्ने तयारी गरेका छन् ।

बागमतीमा सोमबार एमाले समर्थन फिर्ता लिँदै आफ्ना ५ मन्त्रीलाई राजीनामा गराएर सरकारबाट बाहिरिएको थियो । संघको सहमति अनुसार कांग्रेस–एमाले मात्रै मिल्दा प्रदेश सभामा बहुमत पुग्छ । १ सय १० सदस्यीय बागमती प्रदेशसभामा कांग्रेसका ३७ र एमालेका २७ सांसद छन् । बहुमतका लागि ५६ मत चाहिनेमा कांग्रेस र एमालेका मत जोड्दा ६४ मत हुन्छ ।

मुख्यमन्त्री जमकट्टेलले यी दुई दलबाहेकका प्रदेशसभामा प्रतिनिधित्व भएका सबै दललाई एकीकृत गर्दा पनि बहुमत पुग्दैन । बागमती प्रदेशसभामा माओवादी २१, राप्रपा १३, एस ७, नेमकिपा ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् । यी सबैको मत जोड्दा ४७ मात्रै पुग्छ । त्यसमा पनि राप्रपाले केन्द्रमा बनेको कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने बताइसकेको छ ।

२७ असार २०८१, बुधबार १२:०३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस