|  

भिजिट भिसामा दुबई हुँदै कुवेत पुर्‍याएर महिलामाथि चरम यौन शोषण

३ श्रावण २०८१, बिहीबार १०:०१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


साउन ३, काठमाडौँ । भिजिट भिसामा कुवेत पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ रंगेली नगरपालिका–३ का ५७ वर्षीय झयन्द्रकुमार अधिकारी रहेका छन् । उनलाई मानव बेचबिखन ब्युरो काठमाडौँको टोलीले बुधबार ललितपुर महानगरपालिका–२४ बाट पक्राउ गरेको हो ।

ब्युरोका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार उनले एक महिलालाई दुबईको कम्पनीमा काम लगाइ दिने भन्दै विश्वास दिलाएका थिए । उनले त्यहाँ रहेका अर्का व्यक्तिसँग मिलेमतो गरी मासिक ४० हजार तलब हुने भन्दै महिलाको अन्तरवार्ता समेत लिएका थिए ।

लागत खर्च भनी अधिकारीले महिलाबाट दुई लाख नगद लिएका थिए । अधिकारीले सुरूमा भिजिट भिसामा महिलालाई २०७९ जेठ १६ गते दुबई पुर्‍याएका थिए । दुबईमा पुगेपछि अर्का व्यक्तिको जिम्मा लगाए । मिश्रका अनुसार ती व्यक्तिले आफू बस्ने फ्ल्याटमा महिलालाई पुर्‍याए ।

उनले ती महिलालाई घरेलु काममा लगाएर चरम यौनशोषण गरी गर्भपतन समेत गराएको खुलेको मिश्र बताउँछन् । त्यसपछि ती व्यक्तिले दुबईमा भन्दा कुवेतमा राम्रो तलब हुन्छ, अफिस क्लिनर हो भन्दै २०८० वैशाख २८ गते दुबईबाट कुवेत पुर्‍याएर अर्का एजेन्टको जिम्मा लगाए ।

त्यहाँ पुगेपछि ती एजेन्टले बन्धक बनाएर चरम यौन शोषण गरेको मिश्रले बताए । आफूमाथि शोषण सहन नसकेर ती महिलाले एजेन्टलाई नेपाल फर्काइ दिन अनुरोध गरिन् । रकम बुझाउन भनेपछि उनले आफन्तमार्फत ६ लाख ७५ हजार रुपैयाँ तिरेपछि ती एजेन्टले मुक्त गरिदिए । मिश्रका अनुसार त्यसपछि ती महिला २०८० मंसिर ३ गते नेपाल फर्केर ब्युरोमा जाहेरी दिएकी थिइन् । अधिकारीलाई खोजी गरिरहेको प्रहरीले बुधबार पक्राउ गरी अदालतबाट पाँच दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान गरिरहेको मिश्रले बताए ।

३ श्रावण २०८१, बिहीबार १०:०१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस