|  

प्रतिव्यक्ति ऋण ८३ हजार नाघ्यो,ऋण ३२ अर्ब ८९ करोड ५८ लाख रुपैयाँ थप

५ श्रावण २०८१, शनिबार ०७:११ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


साउन ५, काठमाडौँ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्क अनुसार मुलुकको सार्वजनिक ऋण दायित्व २४ खर्ब ३३ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ ।
आव ०८०र८१ को सुरुमा कुल सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब रुपैयाँ रहेकोमा आवको अन्त्यमा अर्थात असार मसान्तसम्ममा १ खर्ब ३४ अर्ब ६८ करोड ४१ लाख रुपैयाँ थप परिचालन भई कुल सार्वजनिक ऋण दायित्व २४ खर्ब ३३ अर्ब २३ करोड ९४ लाख रुपैयाँ पुगेको हो ।

जेठको तुलनामा असारमा कुल सार्वजनिक ऋण ३२ अर्ब ८९ करोड ५८ लाख रुपैयाँ थपिएको हो । कार्यालयले सार्वजनिक गरेको ऋणको अनुपात हेर्दा आन्तरिक र बाह्य करिब ५०र५० आधा–आधाकै स्थितिमा रहेकोमा कुल ऋणको आकार कुल गार्हस्थ्य उत्पादन जीडीपीको करिब ४३ प्रतिशत हाराहारी छ ।

नेपालमा प्रतिव्यक्ति ऋण ८३ हजार नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालमा प्रतिव्यक्ति ऋण ८३ हजार ४ सय ३१ रुपैयाँ पुगेको हो ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेपालको जनगणना, २०७८ अनुसार कूल जनसङ्ख्या दुई करोड ९१ लाख ६५ हजार ५ सय ७८ बराबर छ । कूल सार्वजनिक ऋणलाई कूल जनसंख्यासँग तुलना गर्दा प्रतिव्यक्ति ऋण ८३ हजार ४ सय ३१ बराबर पर्न गएको हो ।

आर्थिक वर्ष २०७९र८० सम्म प्रतिव्यक्ति ऋण दायित्व ७८ हजार ८४० रुपैयाँ रहेको थियो । एक आर्थिक बर्षमा प्रतिव्यक्ति ऋण भार नै ४ हजार ५९१ रुपैयाँले बढ्न पुगेको छ ।

५ श्रावण २०८१, शनिबार ०७:११  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस