|  

बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका लामा नियुक्त

८ श्रावण २०८१, मंगलवार १८:३१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


साउन ८, काठमाण्डौँ । नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामा बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज संविधानको धारा १६८ को उपधारा २ बमोजिम लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमालेका ६४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित लामाले आजै प्रदेश प्रमुख शर्मासमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आज साँझ ५ बजेसम्मको समय तोकेर दाबी पेस गर्न आह्वान गरेका थिए । नवनियुक्त मुख्यमन्त्री लामाको सपथग्रहण कार्यक्रम भोलि बिहान ११ बजे हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । भोलि नै मुख्यमन्त्री लामाले कांग्रेसबाट सात र एमालेका छ गरी १३ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको कांग्रेस संसदीय दलका सचेतक गोविन्दप्रसाद लम्सालले बताए।

८ श्रावण २०८१, मंगलवार १८:३१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस