|  

आफ्नै घरमा मृत भेटिए दम्पती

१० श्रावण २०८१, बिहीबार ०७:०७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


साउन १०, मकवानपुर । मकवानपुरमा एक दम्पती आफ्नै घरमा मृत भेटिएका छन् । बुधबार अपराह्न पौने ५ बजे हेटौंडा उपमहानगरपालिका–५ भैरवरोड नजिकै लटिनाथ चिसापानीमा श्रीमान र श्रीमती मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

६२ वर्षीय श्रीमान केशव भण्डारी र उनकी ५६ वर्षीया श्रीमती अम्बिका भण्डारी मृत फेला परेका हुन् । डिएसपी भण्डारीका अनुसार आफ्नै घरको कोठाभित्र श्रीमान केशव झुण्डिएको अवस्थामा फेला परेका हुन् । श्रीमती अम्बिकामाथि भने धारिलो हतियार प्रहार गरेको देखिएको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धान गर्न कार्यालयबाट एसपी सीताराम रिजालको कमाण्डमा टोली खटिएको थियो । हेटौंडा अस्पतालबाट पनि चिकित्सकको टोली खटिएर अनुसन्धान अघि बढाएको थियो । थप अनुसन्धान बाँकी नै रहेको प्रहरीले जनाएको छ ।

१० श्रावण २०८१, बिहीबार ०७:०७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस