यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
भाद्र ५, काठमाडौँ । आइसीसी महिला टी-२० विश्वकप, २०२४ युएईमा हुने भएको छ । यसअघि बंगलादेशमा हुने भनिएको महिला टी-२० विश्वकप अब युएईमा हुने भएको आइसीसीले जानकारी दिएको छ । अक्टोबर ३ देखि ३० सम्म हुने महिला टी-२० विश्वकप युएईको दुबई र शारजाहमा हुने भएको छ ।
आइसीसीले प्रतियोगिताको आयोजना स्थल मात्र बंगलादेशबाट युएईमा सरेको जानकारी दिँदै आयोजक भने बंगलादेश क्रिकेट बोर्ड नै रहने जानकारी दिएको छ । बंगलादेशमा भएको आन्दोलन र नयाँ सरकार गठनपछि जारी गरिएका कैयौं प्रतिबन्धका कारण प्रतियोगिता युएई सारिएको आइसीसीले जनाएको छ ।
यस विश्वकपमा आयोजक बंगलादेशसहित १० देशले भाग लिँदै छन् । जसमा बंगलादेशसहित अस्ट्रेलिया, इङल्याण्ड, भारत, दक्षिण अफ्रिका, न्यूजील्याण्ड, वेस्ट इन्डिज, पाकिस्तान, स्कटल्याण्ड र श्रीलंका रहेका छन् ।