|  

आज हरितालिका तिज, महादेवको पूजा आराधना गरी मनाइँदै

२१ भाद्र २०८१, शुक्रबार ०७:२६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


भाद्र २१, काठमाण्डौँ । आज हरितालिका तीज पर्व मनाइँदैछ । भदौ शुक्ल तृतीयाका दिनमा मनाइने यो पर्वमा देवाधिदेव महादेवको पूजा आराधना गरिन्छ ।
भदौ शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत शुरू भएको पौराणिक मान्यता छ । आज तीजको व्रत बस्नुपर्ने भएकाले व्रतालुहरूले हिजो दर खाएका छन् । विशेषगरी माइती एवम् दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्छन् । हिजो दर खाएपछि औपचारिक रूपमा शुरू हुने तीज पर्व पर्सि ऋषि पञ्चमीसम्म मनाइन्छ ।

तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।
धर्मशास्त्रीय रुपमा महिला र पुरुष दुवैले तिजको व्रत गर्नुपर्ने भएपनि सामाजिक चर्चा भने महिलाले श्रीमानको दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ ।

व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित पुरुष, महिलाले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन् । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

श्रीमानको दीर्घायुको कामनाका लागि मात्र तिजको व्रत बसिने भनेर गलत प्रचार भइरहेको वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहेका प्राडा देवमणि भट्टराई बताउछन् । ‘अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, महिला र पुरुषहरुले असल वर तथा बधु प्राप्तिका लागि पनि तिजको व्रत बस्ने शास्त्रीय विधान छ’,उनले भने ।

नारीले परिवारको अभिभावकका रुपमा प्रतिनिधित्व गरी व्रत बस्ने भएकाले नसकेका अवस्थामा अथवा रजस्वला भएका बेलामा पुरुषले पनि व्रत बस्ने गरेका छन् । यस अर्थमा अहिले केही नारीवादीले उठाएजस्तो विभेदकारी व्रत परम्परा पनि तिज नभएको धर्मशास्त्रविद्हरुको भनाइ छ ।

२१ भाद्र २०८१, शुक्रबार ०७:२६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस