|  

सप्तर्षिको पूजाआराधना गरी आज ऋषिपञ्चमी मनाइँदै

२३ भाद्र २०८१, आईतवार ०६:१४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


भाद्र २३, काठमाण्डौँ । भाद्र शुक्ल पञ्चमी । सनातन धर्मावलम्बी महिलाले आइतबार ऋषिपञ्चमी पर्व मनाउँदैछन् ।
सबेरै उठी पायक पर्ने नदी, पवित्र तलाउ आदि स्थानमा गई विधिपूर्वक माटो, गोबर, कुश, तिल, अपामार्ग दतिवन प्रयोग गरी स्नान गर्ने परम्परा छ ।
महिलाहरूले दतिवनका ३६५ डाँठले दाँत माझ्ने र ३६५ वटा पातले नुहाउँछन्। ३६५ पटक स्नान गर्नुपर्ने मान्यताका आधारमा महिला चाल्नोबाट पानी खन्याई नुहाउने गर्छन् ।

यसपछि सप्तऋषिको पूजा गर्ने परम्परा छ। कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ हुन्। यस्तै ऋषि वशिष्ठकी पत्नी अरुन्धतीको पनि पूजा गरिन्छ ।

सप्तर्षिको पूजा गर्दा मौसमी फूललगायतका वस्तु ३६५ को संख्यामा चढाउने विधान छ। विधिपूर्व सप्तर्षिको पूजा गर्नाले रजस्वला भएका वेलाका दोष नाश हुन्छन् भन्ने मान्यता छ । ऋषिपञ्चमी व्रत महिलाले मात्र गर्ने शास्त्रीय वर्णन रहेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।

ऋषिपञ्चमी व्रतकथामा भने यो व्रत महिलाले मात्र नभई पुरुषले गर्नुपर्ने बताइएको छ । पतिपत्नी दुवै मिलेर सात वर्षसम्म लगातार व्रत बसी उद्यापन गर्ने विधान छ । पूजा सकी महिला कर्कलाको तरकारीसँग भोजन गर्छन्। ऋषिपञ्चमी व्रतकथामा पनि आज विशेषगरी नजोती, नखनी फलेका कन्दमूल खानुपर्ने बताइएको छ । यो दिन विशेषगरी काठमाडौंको टेकुस्थित ऋषेश्वर, भक्तपुरको दत्तात्रेयलगायत मन्दिरमा घुइँचो लाग्छ ।

२३ भाद्र २०८१, आईतवार ०६:१४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस