यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको काठमाडौं महानगरपालिकाको प्रयासमा संघीय सरकारको सधैं साथ र सहयोग रहने बताएका छन्। ललितपुर महानगरपालिकाको १०५औ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले उपत्यकाको फोहोर व्यवस्थापनका सन्दर्भमा आफूले निकै गम्भीरतापूर्वक छलफल गरिरहेको बताए।
प्रधानमन्त्री दाहालले उपत्यकाको फोहोरको वैज्ञानिक एवं दीर्घकालीन व्यवस्थापनका निम्ति समेत पहल भइरहेको जानकारी दिए। उनले फोहोर व्यवस्थापन परम्परागत रुपमा नभइ आधुनिक प्रविधियुक्त विधिबाट दीर्घकालीन व्यवस्थापन गरिनुपर्नेमा जोड दिए।
प्रधानमन्त्री दाहालले भने,ु फोहोर व्यवस्थापन परम्परागत रूपमा होइन, आधुनिक प्रविधियुक्त विधिबाट दीर्घकालीन व्यवस्थापन र आम्दानीको स्रोत एवं रोजगारी सिर्जनासँग जोडेर जानुपर्दछ भन्नेमा सङ्घीय सरकार स्पष्ट छ । तसर्थ, फोहोर व्यवस्थापनको महानगरको प्रयासमा सङ्घीय सरकारको सधै साथ र सहयोग रहने जानकारी गराउँदै दीर्घकालीन र प्रतिफलमुखी व्यवस्थापनमा केन्द्रित हुन म महानगरलाई विशेष आग्रह गर्दछु ।ु
यसैगरी प्रधानमन्त्री दाहालले सार्वजनिक निर्माणमा देखिएका कमीकमजोरी र सम्पदाको पुनर्निर्माणमा देखिएका नीतिगत र कानुनी जटिलताका लागि आएका गुनासोहरूका उचित सम्बोधन गरिने बताए। सार्वजनिक खरिद प्रक्रियामा नीतिगत र कानुनी सुधारका लागि प्रयास भइरहेकाले यो समस्याको सम्बोधन हुने जिकिर गरे।
संविधानले स्थानीय तहलाई विकास निर्माण र सेवा प्रवाहको क्षेत्रमा महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको भन्दै प्रधानमन्त्री दाहालले नागरिकको नजिकको सरकार भएकाले स्थानीय तहको भूमिका जवाफदेही, पारदर्शी र नागरिकमैत्री हुनुपर्नेमा जोड दिए।