यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले उपत्यकाको विकास एकैपटक हुनुपर्ने बताउनुभएको छ । सोमवार ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवसको अवसरमा बोल्दै उहाँले काठमाण्डौ उपत्यकाको विकासका लागि पालिकाको परस्पर सम्बन्ध हुनुपर्ने बताउनु भएको हो ।
उहाँले उपत्यकाको सुन्दरतालाई बढाउन उपत्यकाका सबै महानगरपालिकाको विकास एकैपटक हुनुपर्ने बताउनु भयो । उहाँले उपत्यकाको विकास एकैपटक गर्नका लागि सङ्घीय र स्थानीय कानुन बाझिएका कारण असहज भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘काठमाण्डौ र ललितपुर दुई वटा एकआपसमा परस्पर सम्बन्ध भएका महानगरपालिका हुन् । काठमाण्डौ एक्लै बनेर पनि उपत्यका राम्रो देखिँदैन, ललितपुर एक्लै बनेर पनि उपत्यका राम्रो देखिँदैन । काठमाण्डौ उपत्यका बाहिरका मानिसहरुलाई काठमाण्डौ उपत्यका एउटै हो जस्तो लाग्छ । ललितपुर आए पनि काठमाण्डौ जस्तो लाग्छ, काठमाण्डौ गए पनि ललितपुर जस्तो लाग्छ । त्यसैले सम्पूर्ण उपत्यकाको विकास एकैपटक हुनुपर्छ । कोही पहिलो, दोस्रो, तेस्रोभन्दा पनि एकैपटक सबै पालिकाहरु अघि बढ्नुपर्छ ।
उहाँले सङ्घीय सरकारका कारण फोहर व्यवस्थापनमा समस्या भइरहेकाले फोहर व्यवस्थापनको दीर्घकालीन समस्या समाधानका लागि कानुनको बाधा अड्चन फुकाइदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गर्नुभयो ।