यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । उखु क्रसिङका लागि तयार हुँदासम्म पनि सरकारले न्यूनतम समर्थन मूल्य नतोकिदिँदा किसानको बारीमै उखु सुक्न थालेको छ । बाली लगाउनुअघि नै समर्थन मूल्य तोक्नुपर्नेमा बाली भित्र्याउने वेलासम्म पनि निर्णय नहुँदा किसानले उखु नकाटेका हुन् । मंसिरको पहिलो सातादेखि उखु क्रसिङ गर्न सुरु हुन्छ ।
तर, समयमा क्रसिङ भएन भने उखुबाट चिनी उत्पादन क्षमतामा ह्रास आउन थाल्छ । समयमै क्रसिङ भयो भने सय केजी लाँक्राबाट ९.५ किलोसम्म चिनी उत्पादन हुन सक्छ । तर, नेपालमा हरेक वर्ष क्रसिङमा ढिलाइ हुँदा सरदर सय केजी उखुबाट ७.५ केजी मात्रै चिनी उत्पादन हुने गरेको छ ।
यो वर्ष उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल सात सय ५० रुपैयाँ हुनुपर्ने किसानको माग छ । तर, यसमा सरकार र उद्योगी सकारात्मक नहुँदा समर्थन मूल्य तोक्न ढिलाइ भइरहेको छ । किसान आफूले भनेअनुसार समर्थन मूल्य नतोकिए उखु नकाट्ने अडानमा छन् । गत वर्षकै सरकारी अनुदानबापतको ५२ करोड रुपैयाँ बक्यौता भुक्तानी नभएकोमा पनि उनीहरूको विरोध छ । समर्थन मूल्य र अनुदानको यही समस्याका कारण बारीको उखु चिनी उद्योगसम्म आउन पाएको छैन ।