|  

विमानस्थलबाट​​​​​​​ सुन तस्करीमा नागरिक उड्डयनकै कर्मचारीको संलग्नता भएको पुष्टि

३ पुष २०८०, मंगलवार १२:२१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करीमा नागरिक उड्डयन कार्यालयकै कर्मचारीको पनि संलग्नता पुष्टि भएको छ । त्यहाँका चार कर्मचारीलाई भन्सारले पक्राउ गरेको छ । उनीहरूले विगतमा पटक–पटक सुन पास गरेकोसमेत अनुसन्धानबाट पुष्टि भएको छ । दुईजना स्थायी र दुईजना करारका कर्मचारीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको विमानस्थलस्थित भन्सार कार्यालयका प्रमुख डा। टोकराज पाण्डेले बताए । उनले भने, ‘नागरिक उड्डयनका चार कर्मचारी नियन्त्रणमा छन्, उनीहरूको संलग्नताबारे विस्तृत अनुसन्धान भइरहेको छ ।’ नागरिक उड्डयनका कर्मचारी सुन तस्करीमा पक्राउ परेको पहिलोपटक हो । भन्सार, एयरलाइन्स र प्रहरीका कर्मचारी भने विगतमा पनि पक्राउ परेका थिए ।

पक्राउ परेकाहरू तल्लो तहका कर्मचारी हुन् । पक्राउ पर्नेमा प्लम्बर, सुरक्षागार्ड तथा अप्रेटरहरू रहेको भन्सार स्रोत बताउँछ । उनीहरूले विमानस्थलको सुरक्षा कमजोरी पत्ता लगाई सुन पास गराउने गरेका थिए । विमानस्थलमा सरसफाइको काम गर्ने तीन कर्मचारी पनि पक्राउ परिसकेका छन् । विदेशबाट आउनेसँग शौचालयमा सुन लिने र उनीहरूले फोहोरभित्र राखेर पास गराउँदै आएका थिए । यसरी लामो समयदेखि सयौँ केजी सुन तस्करी भइसकेको आशंका गरिएको छ ।

३ पुष २०८०, मंगलवार १२:२१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस