|  

तीन हजारभन्दा धेरै सीसी क्यामरा काठमाण्डौ उपत्यकामा जडान

५ पुष २०८०, बिहीबार १३:४२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौ । काठमाण्डौ उपत्यकामा तीन हजारभन्दा धेरै सीसी क्यामरा जडान भएका छन् । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी दीपक थापाकाअनुसार अहिलेसम्म उपत्यकाभित्र ३ हजार ४ सय ८५ सीसी क्यामरा जडान भएका छन्।

काठमाण्डौ महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाको सहकार्यमा थप पाँच सय सीसी क्यामरा जडान गरी तीन हजार नौ सय ५६ सीसी क्यामरा जडानको काम अगाडि बढेको एआईजी थापाले जानकारी दिनुभयो । उहाँले सुरक्षा तथा अपराध न्यूनीकरणका लागि सीसी क्यामरा जडानलाई प्राथमिकतामा राखिएको बताउनुभएको छ ।

हिजो टोखा नगरपालिका–९ नयाँ बसपार्क क्षेत्रमा बन्न लागेको सामुदायिक सेवा केन्द्र र प्रहरी प्रभाग गोङ्गबुको भवन शीलान्यास कार्यक्रममा उहाँले पालिकासँगको सहकार्यमा सीसी क्यामरा जडानको कामलाई प्राथमिकतामा राखेको बताउनुभयो । काठमाण्डौ र ललितपुर महानगरपालिका एवं बूढानीलकण्ठ नगरपालिकासँग मिलेर सीसी क्यामरा जडानको कामलाई तीव्र पारिएको छ ।

त्यस्तै, टोखा नगरपालिकासँग पनि सहकार्य गरेर बसपार्क क्षेत्रको अपराध न्यूनीकरण गर्न पहल गरिने एआईजी थापाले बताउनुभयो । उहाँले नयाँ बसपार्क क्षेत्र वरपर हुने विकृति, विसङ्गति अन्त्यका लागि प्रहरी सधैँ तत्पर रहेको बताउनुभयो ।

 

५ पुष २०८०, बिहीबार १३:४२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस