यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ । देशभरका उच्च अदालत र उच्च अदालतका इजलासहरूमा आज आइतवारदेखि स्वचालित पेसी तारेख व्यवस्थापन प्रणाली शुरु भएको छ ।
उच्च अदालत पाटनमा आयोजित एक कार्यक्रमबीच प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले स्वचालित पेसी तारेख व्यवस्थापन प्रणालीको शुभारम्भ गर्नुभएको हो । उहाँले सबै उच्च अदालतमा पनि मानवको हस्तक्षेपविहीन ढङ्गले पेसी तारेख व्यवस्थापन प्रणाली शुरु गरिएको भन्दै यो न्यायिक इतिहासकै एक सुखद क्षण भएको बताउनुभयो ।
प्रधानन्यायाधीश श्रेष्ठले यो प्रविधिले उच्च अदालतमा पनि सेवाग्राहीलाई विना भेदभाव पेसी तारेख लिन पाउने र अदालतमा अनियमितता नहुने कुराको सुनिश्चित भएको दाबी गर्नुभयो ।