यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । जाजरकोट भूकम्पका लाभग्राहीको संख्या बढेको छ । विवरण सङ्कलनको क्रम जारी रहेकाले संख्या अझै बढ्ने अनुमान गरिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आजसम्म लाभग्राहीको संख्या ६७ हजार सात सय ८० पुगिसकेको छ । यो अझै थपिने क्रममा छ । यसअघि ५९ हजार भन्दाबढी लाभग्राही कायम भएकामा पछिल्लो अध्यावधिक तथ्याङ्कमा झण्डै नौ हजार थपिएका हुन् ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले संख्या बढेर ८० हजार पुग्ने अनुमान रहेको र सोहीअनुसारको तयारी भइरहेको जानकारी दिए । सुरुमा २८ हजार लाभग्राही कायम भएको थियो । त्यसपछि चार हजार थपिएर ३२ हजार हुनपुग्यो । बढ्दै जाँदा ५९ हजार कायम भएकामा अहिले थपिएर ६७ हजार नाघेको हो ।
प्राप्त विवरणअनुसार अहिलेसम्म जिल्लामा ३५ हजार एक सय ४०, रुकुमपश्चिममा २३ हजार छ सय आठ, सल्यानमा एक हजार सात सय ३०, बझाङमा चार हजार पाँच सय ७६ र बाजुरामा दुई हजार सात सय २९ लाभग्राही कायम भएको प्राधिकरणका नीति तथा योजना महाशाखा प्रमुख भरतमणि पाण्डेले बताए । लाभग्राहीको संख्या बढिरहेसँगै उनीहरुका लागि पुनःस्थापन तथा अस्थायी आवास निर्माणको लागत पनि बढ्नेछ ।