यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । महोत्तरीको रामनगरस्थित एभरेष्ट चिनी मिलले उखु क्रसिङ सुरु गरेको छ । शुक्रबारदेखि सञ्चालनमा आएको एभरेष्टले दैनिक २५ हजार क्विन्टल उखु क्रसिङ गरी दुई हजार २ सय क्विन्टल चिनी उत्पादन गरेको मिलको प्रशासन शाखाले जनाएको हो ।
एभरेष्टले मङ्सिर २५ गतेदेखि नै मिल सञ्चालनको तयारी गरेको थियो । तथापि मूल्य निर्धारणको विषयलाई लिएर उखु किसान आन्दोलनमा उत्रेका कारण निर्धारित समयमा मिल सञ्चालन हुन सकेको थिएन । सङ्घर्षरत किसानले बिहीबार विज्ञप्ति जारी गर्दै आन्दोलन रोकेपछि करिब दुई साता ढिलो गरी क्रसिङ सुरु भएको हो ।
क्रसिङमा ढिलाइ हुँदा मिलगेटमा आइपुगेका करिब दुई हजार ५०० क्विन्टल उखु सुकेर गएको एभरेष्ट चिनी मिलका महाप्रबन्धक सुरेन्द्र शुक्लाले दुखेसो गर्नुभयो । यस वर्षको क्रसिङ सिजन ९२०८०(८१० मा न्यूनतम ३० लाख क्विन्टल उखु क्रसिङ गरी दुई लाख ७० हजार क्विन्टल चिनी उत्पादनको लक्ष्य रहेको महाप्रबन्धक शुक्लाले जनाउनुभयो । यसमध्ये १८ लाख क्विन्टल उखु महोत्तरीबाट करिब १० लाख क्विन्टल सर्लाहीबाट तथा बाँकी उखु धनुषा, रौतहट र बारा जिल्लाबाट आपूर्ति गरिने उहाँले बताउनुभयो ।
क्रसिङका लागि आवश्यक उखु मिल गेटमा २० लाख क्विन्टल र कारखाना परिसर बाहिर महोत्तरी र सर्लाहीका ग्रामीण भेगमा रहेका ३३ वटा खरिद केन्द्रमार्फत १० लाख क्विन्टल उखु आपूर्तिको व्यवस्था मिलाइएको एभरेष्टले जनाएको छ । यसका लागि खरिद केन्द्रहरूमा परिचालित प्राविधिज्ञ र कर्मचारीहरूले संम्वद्ध कृषकहरूलाई धमाधम चलान पुर्जी वितरण गरिरहेको उहाँले जनाउनुभयो।