यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पश्चिम खण्ड तनहुँको जामुनेदेखि कास्कीको पोखरासम्म आउँदो माघको तेस्रो हप्तादेखि कालोपत्र गर्न तयारी थालिएको छ । यसका लागि अहिले यस खण्डमा ‘बेस’ राख्ने काम भइरहेको मुग्लिन पोखरा सडक योजना पश्चिम खण्डका इन्जिनियर नारायणप्रसाद पौडेलले जानकारी दिनुभयो ।
केही समयदेखि निकै सुस्त काम भइरहेको यो खण्डमा अहिले कामको गतिले तीव्रता पाएको छ । ३९ किलोमिटर रहेको यो खण्डको प्रगति अहिलेसम्म १४ प्रतिशत मात्रै छ । सडक कालोपत्रका लागि झन्डै दुई किलोमिटर बेसको काम सकिएको पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पुसको अन्तिम वा माघको शुरुदेखि कालोपत्र शुरु हुनेछ । त्यहीअनुसार अहिले काम भइरहेको छ ।’ उहाँका अनुसार अहिले चिनियाँ ५० र नेपाली ६० इन्जिनियर यो खण्डमा खटिएका छन् । त्यस्तै आयोजनास्थलमा चार सयभन्दा बढी नेपाली कामदार परिचालन गरिएको छ ।
सडक आयोजनासँग अहिले २० किलोमिटर कालोपत्र गर्न आवश्यक सामग्री तयारी अवस्थामा छ । यो खण्डअन्तर्गत दुलेगौडा र मुख्य बजार क्षेत्रमा सडक ४६ मिटरको हुनेछ । जामुनेदेखि कुम्लेखोलामा १८ मिटर र बाँकी सडक २३ मिटरको कालोपत्र हुनेछ ।
पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम शुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्शनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ । यो खण्डको ठेक्का सात अर्ब ४० करोड ४६ लाख रुपैयाँमा लागेको थियो ।