|  

सन् २०२३ मा साउदी अरबले १७० जनालाई मृत्युदण्ड दियो

१७ पुष २०८०, मंगलवार ०८:०३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । सन् २०२३ मा साउदी अरबले १७० जनालाई मृत्युदण्ड दिएको छ । साउदी प्रेस एजेन्सीले आन्तरिक मन्त्रालयको विज्ञप्ति उद्धृत गर्दै आइतबार मृत्युदण्ड दिइएका चार जनालाई हत्याको अभियोगमा दोषी ठहर गरेको बताएको छ । तीमध्ये दुई जनालाई उत्तरपश्चिमी सहर ताबुक, एक जनालाई राजधानी रियाद र अर्का एकजनालाई दक्षिणपश्चिम जाजानमा मृत्युदण्ड दिइएको हो ।

सन् २०२३ मा मृत्युदण्ड दिइएकामध्ये आतंकवादसँग सम्बन्धित अपराधको आरोपमा ३३ जना र देशद्रोहको आरोपमा दोषी ठहरिएका दुई सैनिक छन् । सबैभन्दा घातक महिना डिसेम्बरमा ३८ जनालाई मृत्युदण्ड दिइएको थियो ।

एमनेस्टी इन्टरनेसनलले सन् २०२२ मा साउदी अरबले चीन र इरानबाहेक कुनै पनि मुलुकको तुलनामा सबैभन्दा धेरै व्यक्तिलाई मृत्युदण्ड दिएको बताएको छ । टाउको काटेर मृत्युदण्ड दिन कुख्यात यो मुलुकले सन् २०२२ मार्चमा एकै दिनमा ८१ जनालाई मृत्युदण्ड दिएर विश्वभरमा निन्दाको लहर उत्पन्न गरेको थियो ।

 

१७ पुष २०८०, मंगलवार ०८:०३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस