यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । गाजामा लगातार हमलामा दुई दर्जन मानिस मारिएको र प्यालेस्टिनी लडाकू समूह हमासले आधा रातमा रकेट हमला गरेको भन्दै इजराइलले हमासविरुद्ध उसको युद्ध सन् २०२४ भर जारी रहने चेतावनी दिएको छ ।
इजराइली सेनाका प्रवक्ता डेनियल हगारीले नयाँ वर्षको सन्देशमा तीन लाख सेना रिजर्भमध्ये केहीलाई आगामी ‘लामो लडाइँ’ का लागि युद्धबाट विश्राम दिइने बताए । ‘सेनाले यो पूरा वर्ष थप कार्य र युद्धको आवश्यकतालाई बुझेर भावी योजना बनाउनुपर्छ,’ अक्टोबर ७ मा हमासको हमलाबाट सुरु भएको द्वन्द्व अझ बढेको भन्दै उनले भने ।
स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार हमास शासित गाजामा पुनः गोलाबारी हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार गाजापट्टीमा ८५ प्रतिशत जनसंख्या विस्थापित भएको छ । घेरामा परेको गाजापट्टीमा २० वर्षीय हमदान अबु अरबले सन् २०२४ अझ राम्रो हुने आशा व्यक्त गरे । ’हामी वर्षको अन्तिम दिन बाहिर जान्थ्यौँ र आफ्नो समयको आनन्द लिन्थ्यौँ, तर यो नयाँ वर्षको पूर्वसन्ध्यामा क्षेप्यास्त्र र मानिसहरूको अवशेषहरू मात्र छन्,’ अबु अरबले भने ।
हमासले वर्षको सुरुआत इजराइलमा रकेट हमला गर्दै यसलाई ‘नागरिकहरूको नरसंहारको प्रतिक्रिया’ भनेको छ । रकेट हमला गरेपछि तुरुन्तै २६ वर्षीय गेब्रियल जेमेलम्यानले भने, ‘मेरो मुटु धड्किरहेको थियो, यो भयानक छ, तपाईंले हामीले जुन जीवन बाँचेको देख्नुभयो, यो पागलपनले भरिएको छ ।’
इजराइलले हमासलाई ध्वस्त पार्ने वाचा गरेको छ र दण्डात्मक आक्रमण सुरु गरेको छ ।