|  

सङ्घीय राजधानी काठमाण्डौ उपत्यका जोडिने सबैजसो खण्डको यात्रा कष्टकर

५ माघ २०८०, शुक्रबार ११:५३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौ । समयमा मर्मत नहुँदा काठमाण्डौ उपत्यका जोडिने सबैजसो सडक जीर्ण बनेको छ । नागढुङ्गा नाका हुँदै ओहोरदोहोर गर्नुपर्दा नागढुङ्गा–मुग्लिन, मुग्लिन–नारायणगढ, बुुटवल–नारायणगढ तथा पोखरा–मुग्लिन सडक खण्डमा सबैभन्दा धेरै समस्या छ ।

यस्तै, हेटौँडा–काठमाण्डौ जोड्ने सडकखण्ड, काठमाण्डौ–सिन्धुली जोड्ने वीपी राजमार्ग र बालाजुुबाट नुवाकोट निस्कने पासाङ ल्हामू राजमार्गमा पनि ठाउँठाउँमा सडक भत्किएका र बिग्रिएका छन् । सडकमा कतै मर्मत गर्न भन्दै भत्काएर असरल्ल छोडिएका ढुङ्गामाटा र बालुवागिट्टी छन् ।

छिटो मर्मत सकिने ठाउँमा पनि उस्तै ढिलासुस्ती भएको छ । यसबाट यात्रु, चालक र सहचालक पनि हैरान छन् । काठमाण्डौ जोड्ने मुख्य नाका नागढुङ्गा हुँदै दैनिक झण्डै ७ हजार गाडी आउजाउ गर्छन् । यो नाका हुँदै काठमाण्डौ छिर्न त्यति सजिलो छैन ।

पृथ्वी राजमार्गमा पर्ने पोखरा–मुग्लिन सडक खण्डको बाटो हुँदै आउनेले झण्डै ८० किलोमिटर बिग्रेको बाटोमा यात्रा गर्नुपर्छ । पूर्व पश्चिम राजमार्गमा पर्ने बुटवल नारायणगढ सडकखण्डको बाटो हुँदै ओहोरदोहोर गर्नेले १ सय १३ किलोमिटर लामो बिग्रेको बाटोमा यात्रा गर्नुपर्छ ।

यस्तै,धादिङको सिस्ने खोलामा बनिरहेको सुरुङ मार्गको कारण सडकमा खाल्डाखुल्डी भएकाले घण्टौँ जाम हुन्छ । यस्तो सडकमा यात्रा गर्दा बिरामीलाई झन् गाल्ने र सद्दे मान्छे पनि बिरामी हुने अवस्था रहेको सुर्खेतबाट काठमाण्डौ आउनुभएकी विनादेवी जैशीले बताउनुभयो ।

यस्तै, भीमफेदी–कुलेखानी–फाखेल–हुमाने–फर्पिङ हुँदै काठमाण्डौ जोड्ने सडक र हेटौँडाबाट र भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ हुँदै काठमाण्डौ जोड्ने सडक निर्माण थालिएकाले दुवै बाटो बन्द गरिएको छ । काठमाण्डौ र हेटौँडा जोड्ने कान्तिलोकपथमा अहिले दैनिक ६ सय वटा गाडी आउजाउ गर्छन् ।

कान्ति लोकपथबाट नै आउजाउ गरिरहेका सुमो चालक आशीष लामाले यो सडक तुलनात्मक रुपमा सहज भए पनि ठाउँठाउँमा भत्किएको बताउनुुभयो । यात्रा गरुन्जेल चट्टानसहितको पहिरो खस्ने डर रहेको उहाँको भनाइ छ । तुलनात्मक रुपमा वीपी राजमार्ग अरु सडकभन्दा केही राम्रो भए पनि ठाउँठाउँमा भत्केको छ ।

काठमाण्डौ जोडिने, पासाङल्हामू राजमार्गमा पर्ने नुवाकोट बालाजु सडक खण्डमा पाँच वर्षदेखि सडक विस्तार र मर्मतको काममा भएको ढिलासुस्तीले गाडी चलाउन पनि समस्या हुने गरेको त्यही क्षेत्रका चालक देवेन्द्र श्रेष्ठले बताउनुभयो ।

काठमाण्डौ र देशका अरु मुख्य सहर जोड्ने धेरै राजमार्गहरु यस्तै, भद्रगोल र अस्तव्यस्त छन् । अन्तर्राष्ट्रिय मान्यता अनुसार हरेक राजमार्गलाई ७ देखि दश वर्षमा पुनर्निर्माण गर्नुपर्छ । तर नेपालमा सडकमा खाल्डा पुर्ने र भित्ता टाल्ने काम मात्रै हुने गरेको छ ।

 

५ माघ २०८०, शुक्रबार ११:५३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस