यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौं । दक्षिण अफ्रिकामा आज शुक्रबारबाट सुरु भएको आईसीसी यू–१९ विश्वकप क्रिकेट खेलमा नेपाल पनि सहभागी भएको छ । नेपालको खेल भने आइतबार मात्रै हुनेछ ।
क्रिकेट खेलाडी जन्माउने फोरमको रुपमा रहेको यू–१९ खेलमा १२ टेष्ट राष्ट्रका युवा टोलीसहित चार एसोसिएट राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । आज समूह ‘ए’ मा रहेका आयरल्याण्ड र अमेरिका तथा समूह ‘बी’ मा रहेका दक्षिण अफ्रिका र वेष्ट इन्डिजबीच खेल हुँदैछ ।
सबै ४१ वटा खेलको प्रत्यक्ष प्रसारण हुने आईसीसीले जनाएको छ । यू–१९ विश्वकको फाइनल आउँदो फेब्रुअरी १२ मा हुनेछ । नेपालले आठ बर्षपछि यसमा सहभागी हुने अवसर पाएको हो ।
कुल १६ टोलीको चार समूहमध्ये नेपाल ‘डी’मा छ । समूह ‘ए’मा भारत, बंगलादेश, आयरल्याण्ड र अमेरिका, ‘बी’मा इंग्ल्याण्ड, दक्षिण अफ्रिका, वेष्ट इन्डिज र स्कटल्याण्ड, ‘सी’मा अष्ट्रेलिया, श्रीलंका, जिम्बाव्वे र नामिबिया तथा ‘डी’मा नेपाल, न्युजिल्याण्ड, अफगानिस्तान र पाकिस्तान छन् ।