यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । सङ्घीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राष्ट्रिय गौरवको कालिगण्डकी कोरिडोर सडक आयोजना निर्माणमा भएका समस्यालाई चाँडै समाधान गरेर निर्माणलाई गति दिने बताउनुभएको छ ।
मन्त्री ज्वालाले शनिबार कोरिडोर अन्तर्गत पर्वतको मालढुङ्गादेखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानी खण्डसम्मको स्थलगत रूपमा अनुगमनका क्रममा सो कुरा बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘‘कोरिडोर आयोजना निर्माणमा देखिएका समस्यालाई स्थलगत रूपमा नै अध्ययन र अनुगमन गर्न सडक विभागको टोलीसहित आएको छु । यहाँ देखिएका समस्याका बारेमा तुरुन्त समाधान गरेर निर्माणलाई गति दिन्छौँ ।’’
अनुगमनमा गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशम जुग्जाली, सडक विभागका महानिर्देशक सुशील बाबु ढकाल, म्याग्दीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल र कालिगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजना प्रमुख ध्रुव झा, प्रहरी नायब उपरीक्षक मदन कुँवरलगायतले सडक निर्माणको अवस्थाका बारेमा अनुगमन गर्नुभएको थियो ।
राष्ट्रिय गौरवको कालिगण्डकी कोरिडोर सडक आयोजनामा भएको ढिलासुस्तीले सबैको ध्यान तानेको छ, मन्त्री ज्वालाले भन्नुभयो, ‘‘कतिपय स्थानमा काम भएको पनि देखिएको छ । कतिपय स्थानमा अझै ठेकेदारले ढिलासुस्ती गरेको देखियो । स्थानीयस्तरमा कतै निर्माण सामग्रीको अभाव पनि देखिएको छ ।”
हालसम्म छ वटा खण्डमा ८५ किलोमिटर ग्राभेल र दुुईवटा खण्डको १९ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको छ । योजनामार्फत १८ वटा पक्की पुल र तीन वटा बेलीब्रिज निर्माणको काम सकिएको छ ।