यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । लगातारको हुस्सु र शीतलहरका कारण चिसो बढ्दा रौतहटसहित मधेशको जनजीवन प्रभावित भएको छ। विगत एक सातादेखि लागेको हुस्सु र शीतलहरले रौतहटको जनजीवन नराम्रोसँग प्रभावित भएको हो ।
अत्याधिक चिसोका कारण सर्वसाधारणहरू घरबाट बाहिर निस्कन सकेका छैनन् । चिसोका कारण बजारमा चहलपहल समेत घटेको छ । चिसोका कारण विपन्न, वृद्धवृद्धा, बालबालिका, गर्भवती र सुत्केरी महिला बढी प्रभावित छन् ।
जाडो बढेसँगै रौतहटका सरकारी कार्यालयहरूमा आउने सेवाग्राहीको संख्या समेत घट्दै जान थालेको छ। पहिलेको तुलनामा जाडोका कारण सेवा लिन आउने सेवाग्राहीको संख्यामा कमी आएको रौतहट जिल्ला भूमिसुधार कार्यालयका कार्यालय प्रमुख उदयप्रसाद देवकोटाले जानकारी दिए ।
तुसारोका कारण किसानहरूले लगाएको नगदे बाली मुसुरो तथा तोरीमा नराम्रो क्षति पुगेको किसानहरूको भनाइ छ। जाडो बढेसँगै अस्पतालमा जाडोबाट हुने विभिन्न रोगका बिरामीहरूको सङ्ख्या समेत बढ्दै गएको छ ।