यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौं । रुसी सेनामा थप एक जना नेपालीको मृत्यु भएको छ । यससँगै ज्यान गुमाउने नेपालीको संख्या १२ पुगेको छ । रुसी सेनामा भर्ती भएका रसुवा नौकुण्ड गाउँपालिका– ५ का ३२ वर्षीय सुन्दर मोक्तानको रुस–युक्रेनको युद्धमा परी मृत्यु भएको हो ।
गाउँपालिका अध्यक्ष नुर्वु स्याङवो घलेले मोक्त्तानको मृत्यु भएको खबर परिवारलाई प्राप्त भएको जानकारी दिए । मृतक पूर्व नेपाली आर्मी हुन् । उनको घरमा श्रीमती, आमा एक छोरा र एक छोरी छन् । उनी गत भदौमा रुसी सेनामा भर्ती हुन पुगेका थिए । उनको मृत्युको खबर गत पुस १२ गते परिवारलाई आइपुगेको हो । रुसी आर्मीमा गएकाहरु अझै केही बेपत्ता छन् ।