|  

जिल्ला अनुगमन समितिले धादिङका भेटेनरी पसलहरुमा अनुगमन

१८ माघ २०८०, बिहीबार १४:२७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ । जिल्ला अनुगमन समितिले पछिल्लो समय पशुका औषधी विक्रि गर्ने भेटेनरी पसलहरुमा कडाईका साथ अनुगमन गरेको छ । अनुगमनका क्रममा टोलीले दुईवटा औषधी पसललाई कारवाही गरी जरिवाना समेत गराएको छ ।

कानून विपरित पसल सञ्चालन गरेको भन्दै जनगुनासो बढ्न थालेपछि यस्ता गतिविधि रोक्न सम्बन्धित विशेषज्ञसहितको टोलीले जिल्लामा सञ्चालन हुँदै आएका औषधी विक्रि गर्ने पसल अनुगमन गरिएको हो ।

जिल्लामा सञ्चालन हुँदै आएका विषादी विक्रि गर्ने पसलहरु सरकारको मापदण्डअनुसार नभएको पाईएको र त्यस्ता पसलहरुलाई कारवाही समेत गरेको अनुगमन समितीका संयोजक धादिङका सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले बताउनु भएको छ ।

अनुगमनका क्रममा अनुमतिबेगर विभिन्न किसिमका बालीमा राख्ने विषादी विक्रि गर्नुका साथै प्रतिबन्धित औषधीसमेत विक्रि गरेको पाईएको हो । यससँगै भेटेनरी औषधी पसलहरुमा मानव स्वास्थ्य र वाताबरणमा निकै हानि गर्ने विषादीहरु विक्रि गरेको पाईएको हो ।

अनुगमन समितिले अहिले धादिङ जिल्लाको राजमार्ग क्षेत्रमा पर्ने धुनिबेसी, थाक्रे, गल्छी, गजुरी र बेनिघाटमा अनुगमन गरेको हो । जिल्लाका गाउँ गाउँमा समेत पुगेर अनुगमन गर्ने योजनासहित अनुगमनलाई तीव्र पारिएको पनि अनुगमन समितिले जनाएको छ ।

१८ माघ २०८०, बिहीबार १४:२७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस