यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । उद्योग सञ्चालनका लागि अनुमति लिएर सञ्चालन नगर्ने करिब दुई दर्जन उद्योगको सम्झौतापत्र खारेज ह्ुने भएको छ । हेटौँडा औद्यौगिक क्षेत्रमा अनुमति लिएर सञ्चालन नगर्ने उद्योगको सम्झौता खारेज प्रक्रिया अघि बढाइएको हो ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको कार्यालय हेटौँडाले सो सम्झोता पत्र खारेजको काम अगाडि बढाएको हो । “सम्झौता गरेर जमिन ओगेट्ने काम मात्र भयो, उद्योग सञ्चालन भएन । फलस्परुप कारबाहीको प्रक्रिया अगाडि बढाएका छौँ”, कार्यालयका प्रमुख भोजराज विडारीले भने । उनका अनुसार केही उद्योगका सम्झौता खारेज गर्दा जिल्ला अदालत मकवानपुरमा मुद्दासमेत दायर गरिएका छन् ।
हेटौँडा वडा नं ८ मा रहेको उक्त औद्योगिक क्षेत्रमा एक सय ४७ मध्ये एक सय १५ वटा उत्पादनमूलक उद्योग सञ्चालन छन् । बन्द भइसकेकामा नौ, निर्माणाधी २३ उद्योग रहेका कार्यालयबाट प्राप्त तथ्याङ्कमा जनाइएको छ । ती उद्योगमध्ये अधिकांशको आर्थिक अवस्था कमजोर रहेको बताइएको छ ।
औद्यौगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार उक्त क्षेत्रमा यसअघि तीन सिफ्टमा सञ्चालन हुने उद्योग अहिले एक सिफ्टमा सञ्चालन हुने गरेका छन् । कतिपय उद्योग कहिले सञ्चालन हुने र कहिले बन्द हुने अवस्थामा रहेका प्रमुख विडारीले जानकारी दिए । उनका अनुसार पछिल्लो समय यहाँ सञ्चालित अधिकांश उद्योगको उत्पादन र बिक्ती घट्दै गएको छ ।
उद्योगको अवस्था तीन वर्षयतादेखि दिनप्रतिदिन खस्किँदै गएको, लगानी अनुसार प्रतिफल प्राप्त नहुँदा नोक्सानी बढ्दै गएको विडारीको भनाइ थियो । कोरोना महामारीका साथै अन्य विभिन्न कारणले भएकोे आर्थिक तथा व्यावसायिक मन्दिले उद्योग र व्यवसायको अवस्थामाथि उठ्न नसकेको उनले बताए ।