यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
धादिङ । सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि ट्राफिक प्रहरीले “सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह २०८०” मनाई रहेको छ । बागमती प्रदेशका प्रत्येक जिल्लामा यो कार्यक्रम सञ्चालन भईरहेको छ । ट्राफिक प्रहरी कार्यालयहरूको अगुवाइ तथा स्थानीय तह, स्थानीय प्रहरी, विभिन्न संघसंस्थासँगको समन्वय तथा सहकार्यमा साताव्यापी रूपमा विविध ट्राफिक चेतनामूलक कार्यक्रम गरी ट्राफिक सप्ताह मनाउन थालिएको हो ।
एक हप्तासम्म निरन्तर चल्ने यस कार्यक्रममा चालक, परिचालक, पैदलयात्री,विद्यार्थी र समग्रमा सडक प्रयोगकर्ता लक्षित ट्राफिक चेतनामूलक कार्यक्रमहरू रहेको र साताव्यापी सञ्चालन हुने यस कार्यक्रमले दुर्घटना न्यूनीकरण गर्न, सडक अनुशासन कायम राख्न र सडक प्रयोगकर्तालाई जिम्मेवारी बोध गराउन महत्त्वपूर्ण भूमिका खेल्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख रबिन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
धादिङ जिल्लाको सवारी दुर्घटनाको विश्लेषण गर्दा अधिकांश सवारी दुर्घटना तीव्र गति, ट्राफिक सङ्केत वा इशाराको उल्लङ्घन, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन चलाउने जस्ता चालकको लापरबाहीका कारण हुने गरेको पाइएको छ । यस्तै सडकको अवस्था, सवारी साधनको खराब अवस्था र सवारीको यान्त्रिक गडबडी र सडक प्रयोगकर्तामा ट्राफिक नियमको पर्याप्त ज्ञानको अभाव पनि सवारी दुर्घटनाका कारण बनेकाले सडक सुरक्षा तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि ट्राफिक सप्ताहको आयोजना गरिएको प्रमुख श्रेष्ठले बताउनुभयो ।
साताभर हुने जनचेतनामूलक कार्यक्रममा विद्यालय सम्पर्क कार्यक्रम, चालक र परिचालकलाई ट्राफिक ज्ञानको अभिवृद्धि गर्नुका साथै उनीहरूको स्वास्थ्य परीक्षण, विद्यार्थी तथा स्काउट लगायत सवारी चालक र परिचालकलाई पनि स्वयंसेवकको रूपमा परिचालन गर्ने, जनचेतनामूलक स्टिकर तथा पर्चा पम्पलेट वितरण गर्ने कार्यक्रम छ ।