यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । मुग्लिन–पोखरा सडक योजनाको पश्चिम खण्डस्थित पोखरामा कालोपत्र गर्न सुरु गरिएको छ । कास्की र तनहुँको सिमाना कोत्रेदेखि पोखराको पृथ्वीचोक सेती पुलसम्मको १९ किलामिटरमध्ये पोखरा प्रवेशको लामेआहालमा हाल अस्पाल्ट कालोपत्रको काम सुरु भएको हो ।
आयोजना कार्यालयका सूचना अधिकारी इञ्जिनियर नारायण पौडेलले पोखरा–३२ लामेआहालबाट अस्पाल्ट कालोपत्रको काम सुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार यस क्षेत्रमा सुरुआतमा सात सय मिटर सडक कालोपत्र हुनेछ । अन्य बेस तयार भएका ठाउँमा समेत क्रमशः काम हुने उहाँको भनाइ थियो ।
पौडेलले भन्नुभयो, “सबै ठाउँमा कालोपत्र गर्न तयारी भएको छैन । सडक सम्माउने लगायतका काम जारी छन् । बेस तयार भएका ठाउँमा कालोपत्र गर्न सुरु गरेका हौँ ।” मुग्लिन–पोखरा सडक आयोजनाको पूर्वी खण्डको तुलनामा पश्चिम खण्डको काम सुस्त छ । अहिले पोखरा खण्डको राजमार्ग क्षेत्रमा अधिकांश स्थानमा स्तरोन्नतिका लागि सडक फराकिलो बनाउने काम भइरहेको छ ।
राजमार्गको सहरी क्षेत्रमा सर्भिस लेनसहित छ लेन र अन्यत्र चार लेनको सडक बन्ने इञ्जिनियर पौडेलले बताउनुभयो । आयोजनाका अनुसार पोखराको सेती पुलदेखि तल्लो गगनगौँडासम्म छ लेन हुनेछ । यस खण्डमा भौतिक पूर्वाधार मन्त्रालय, सडक विभाग तथा स्थानीय सरकारलगायतको निरन्तर प्रयासले पछिल्लो समय काममा तीव्रता आएको हो ।