|  

नेपाल वैदिक सनातन संस्कृतिको उद्गमस्थल हो : राष्ट्रपति पौडेल

१ फाल्गुन २०८०, मंगलवार १३:३७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल वैदिक सनातन संस्कृतिको उद्गमस्थल रहेको बताउनुभएको छ । गार्गी कन्या गुरुकुलद्वारा आज आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्नुहुँदै उहाँले गुरुकुलको विकासका लागि राज्यले विशेष ध्यान दिने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति पौडेलले कन्यालाई वेद शिक्षा प्रदान गर्नका लागि गार्गी कन्या गुरुकुल विद्याश्रमले खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो । “समाजलाई सभ्य, सुसंस्कृत र समृद्ध बनाउन नारीहरूलाई सुशिक्षित, स्वावलम्बी र सशक्त बनाउनुपर्छ,”– उहाँले भन्नुभयो ।

देशमा रहेका गुरुकुलमा कन्यालाई यथोचितरुपमा वैदिक शिक्षा दिने व्यवस्था हुन नसकेको अवस्थामा यसबाट उनीहरुलाई गुरुकुलको वातावरणमा वैदिक शिक्षा दिने प्रबन्ध गर्नु सुखद पक्ष भएको राष्ट्रपति पौडेलको भनाइ थियो । उहाँंले ऋषिमुनि र तपस्वीको आदर्शको अनुशरण गर्दै देवघाटधाममा सन्त महात्माले आश्रम र गुरुकुल चलाएर यहाँको महत्वलाई बढाउनु प्रशंसनीय कार्य भएको बताउनुभयो ।

“गुरुकुलबाट शिक्षित जनशक्तिले आफ्नै माटोको मौलिक संस्कार, संस्कृति, सहअस्तित्व र स्वाभिमानको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ भन्ने मलाई लागेको छ,” राष्ट्रपति पौडेलले भन्नुभयो । विश्वको सबैभन्दा प्राचीन ग्रन्थ र आध्यात्मिक ज्ञान, विज्ञानको मूल वेदलाई मानिएको उल्लेख गर्दै उहाँले नेपाल देवभूमि र अध्यात्म साधनाभूमिको रूपमा चिनिने गरिएको बताउनुभयो ।

 

 

 

१ फाल्गुन २०८०, मंगलवार १३:३७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस