यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । नेपाल प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको छ महिनाको अवधिमा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न ८९ व्यक्तिलाई पक्राउ गरेको छ । त्यसमध्ये ६७ पुरुष र २२ महिला छन् । सोही अवधिमा जम्मा ७९ मुद्दा दर्ता भएका छन् ।
मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी अपराध नियन्त्रण गर्न नेपाल प्रहरीमा मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलले विशिष्टिकृत एकाइका रुपमा काम गर्दै आएको छ । सम्बन्धित अपराध अनुसन्धानलाई प्रभावकारी र परिणाममुखी बनाउन ब्युरोले सक्रिय एवं प्रभावकारी भूमिका निर्वाह गर्दै आएको छ ।
सो अवधिमा एक सय ४९ व्यक्तिलाई अभियोग लागेको छ । सो अवधिमा देशभरबाट दुई सय ३६ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये एक सय ५० महिला, २६ पुरुष र ६० बालिका रहेका छन् । नेपाल आन्तरिक र सीमा वारिपारि हुने मानव बेचबिखनबाट अति प्रभावित रहेको छ ।
त्यसमा वैदेशिक रोजगारका लागि नेपालबाट ठूलो सङ्ख्यामा भारत, मलेसिया, कतार, साउदी अरब, लिबिया, बहराइन, कुवेत, संयुक्त अरब इमिरेट्स, अमेरिका तथा विभिन्न युरोपेली र अफ्रिकन देशलगायत अन्य विभिन्न मुलुकमा नेपाली काम गर्ने वा अवैधानिक बसोबासको प्रलोभनमा परी बेचबिखनमा पर्ने गरेका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो