यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक रुपान्तरणको बलियो खम्बा कृषि रहेको बताउनुभएको छ । बिपी चिन्तन प्रतिष्ठान केन्द्रीय समितिद्वारा आज यहाँ आयोजित ‘नेपालमा आर्थिक रुपान्तरणका आधारहरू सुशासन, ऊर्जा, कृषि, पर्यटन र श्रम तथा रोजगार’ विषयक विचारगोष्ठीमा मन्त्री डा महतले मुलुकको आर्थिक विकासलाई नेतृत्व गर्ने बलियो आधार कृषि रहेको उल्लेख गर्नुभयो ।
मन्त्री डा महतले आधुनिक प्रविधिअनुरुप व्यावसायिक खेती गरी उत्पादकत्व बढाउन आवश्यक रहेको उल्लेख गर्दै भौगोलिकताका आधारमा कृषियोग्य जमिनको पहिचान गरी कृषि क्षेत्रको औचित्य पुष्टीगर्न आवश्यक रहेको बताउनुभयो ।
ऊर्जा, पर्यटन, कृषि, प्रविधि मुलुकको आर्थिक रुपान्तरणको बलियो आधार खम्बा रहेको बताउँदै मुलुकको अर्थतन्त्रलाई सुदृढ बनाउन यी चार खम्बाको महत्त्वपूर्ण भूमिका रहने मन्त्री डा महतको भनाइ थियो ।
प्रजातान्त्रिक समाजवादमा निजी क्षेत्रलाई उत्पादनको नेतृत्व प्रदान गरी न्यायोचित वितरणका लागि सरकारले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै उहाँले निजी क्षेत्रलाई सुदृढीकरण गर्न सरकारले सहजीकरण, सबलीकरण गर्ने बताउनुभयो ।
गोष्ठीमा कृषि मूल्य शृङ्खला विज्ञ डा बद्री बस्ताकोटीले मुलुकको निर्वाहमुखी कृषि प्रणालीलाई फलदायी बनाउन सिँचाइको पर्याप्तता, कृषिको व्यावसायीकरण, लगानीमा सुनिश्चितता आवश्यक रहेको औँल्याउनुभयो ।
नेपाल किसान सङ्घका पूर्वअध्यक्ष डा भानुभक्त सिग्देलले बिपीले देखाएको समाजवादको आधारशीला कृषि र किसानबाट खोज्नुपर्ने भन्दै दिँदै कृषिमा लगानी अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । कृषिमा रुपान्तरण गर्न कृषि दशक घोषणा गरी अघि बढ्न आवश्यक रहेको उहाँले औँल्याउनुभयो ।