|  

पर्यटकीयस्थलका रूपमा चिम्टेश्वर क्षेत्रलाई विकास गरिँदै

९ फाल्गुन २०८०, बुधबार १४:२८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । धार्मिक, ऐतिहासिक, पर्यटकीय र पुरातात्त्विक महत्वको चिम्टेश्वर क्षेत्रलाई थप विकसित गर्न तीनै तहका सरकारले अग्रसरता देखाएका छन् । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको एकीकरण अभियानसँग जोडिएको उक्त क्षेत्रमा पूर्वाधार र वातावरणीय विकास गरी संरक्षण र प्रवर्द्धन गर्न नगरपालिकाले चिम्टेश्वर क्षेत्र विकास समिति ऐन जारी गरी समिति गठन गरेको छ ।

सो क्षेत्रमा बागमती प्रदेश सरकारले पाँच करोडको लगानीमा ‘भ्यू टावर’ निर्माण गरेपछि पर्यटक वृद्धि भएको छ भने चिम्टेश्वर मन्दिरको सरसफाइ र व्यवस्थापनमा नुवाकोटको बेलकोटगढी नगरपालिकाले काम गरिरहेको छ । पालिकाको २५ लाखको लागतमा मन्दिर जान सिँढी निर्माण भएको छ । यस्तै सिमसार पोखरी र पानी ट्याङ्की निर्माणमा रु डेढ करोड खर्च भएको छ । पछिल्ला दिनमा यस क्षेत्रमा विभिन्न राजनीति र सामाजिक संस्थाहरूले वनभोजलगायत सामाजिक गतिविधि बढाएका छन् ।

हालै ललितकलाका विद्यार्थीहरू पुगेर चित्रकला महोत्सव सञ्चालन भएको छ । चिम्टेश्वरमा काठमाडौँको बालाजुबाट पासाङ ल्हामु मार्गको रानीपौवा हुँदै र नुवाकोटको त्रिशूलीबाट तादी हुँदै तथा अन्य विभिन्न मार्गबाट जान सकिन्छ । काठमाडौँको स्वयम्भू भीम ढुङ्गा चाउथे हुँदै ३३ किमी, बालाजु रानीपौवा जुरेथुमबाट ४६ किमी, बालाजु तीन पिप्ले हुँदै ३७ किमी, नागढुङा पिप्लामोड हुँदै २८ किमी, कलङ्की धार्के बाह्रबिसे झ्याङ्ली हुँदै जान सकिन्छ ।

चिम्टेश्वर महादेवस्थान नुवाकोटको साबिक बेलकोट, कुमारी, जिलिङ तथा दुईपीपल गाविसको सिमानामा पर्ने ऐतिहासिक, धार्मिक, पुरातात्त्विक एवम् पर्यटकीय महत्वको क्षेत्र भएको स्थानीयबासी नारायण खनाल बताउनहुन्छ । विविध जडीबुटी, लोपोन्मुख पशुपन्छी, चराचुरुङ्गी तथा पुतलीहरू पाइने उक्त स्थानबाट गणेश, लाङटाङ, जुगल, दोर्जेलाक्पा आदि हिमशृङ्खलाको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ ।

यहाँबाट काठमाडौँ उपत्यकाको तीनवटै सहर, काभ्रेपलञ्चोक, सिन्धुपाल्चोक, धादिङ, दोलखा, मकवानपुर, रसुवा, चितवन र गोर्खालगायत जिल्लाका भूभागसमेत हेर्न सकिन्छ । सो नगरपालिकाको नवौ नगरसभाबाट पारित चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पालिकाभित्र रहेका धार्मिक, ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाहरूको संरक्षण र विकास गर्ने उल्लेख छ ।

पालिकाले चिम्टेश्वर, निरञ्जना, जलेश्वर, दुईपीपल, डबली, झिल्टुङकोट, मझुवादेवी थान, महाँमाया, कुमारीमाई वासुकीमाई, बाराहीमाई, कुमारी सहिदपार्क, डिकाचौर, झिल्केश्वर, जलेश्वर, काशीटार तथा बौद्ध धर्मावलम्बीको धार्मिक सम्पदाहरु दिप्छेन छोइलिङ गुम्बा, पारमेन्दो गुम्बालगायत ऐतिहासिक तथा प्राकृतिक सम्पादाहरु गुफा, ताल र खोलाहरूको संरक्षण गर्न समितिहरू गठन गरिने जनाइएको छ ।

आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न समुदायस्तरमा घरबास होमस्टे सञ्चालन गरिने पहिचान दिने कृषि उत्पादनमा वैदेशिक रोजगबारबाट फर्किएकालाई समावेश गरी परियोजनासँगै साझेदारी लगानी तथा वित्तीय लगानीको व्यवस्था गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पीताम्बर पाण्डेको भनाइ छ । यस क्षेत्रलाई विकास गर्न गुरुयोजना बनाएर केन्द्र र प्रदेश सरकारबाट बजेट ल्याउन प्रयास भइरहेको उहाँले बताउनुभयो ।

बागमती प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री केशवराज पाण्डेले यस क्षेत्रलाई मध्यपहाडीको विकासशील सम्भावनायुक्त क्षेत्रका रूपमा राखी तीनवटै तहका सरकारबाट एकीकृत विकासका काम गराउन पहल भइरहेको बताउनुभयो । उहाँले नेकपा ९एमाले० ले हालै सञ्चालन गरेको झुलाघाट(चिवाभञ्ज्याङ सङ्कल्पयात्राका क्रममा मध्यपहाडी  पुष्पलाल राजमार्गभित्र सो क्षेत्र पनि पर्ने भएकाले यहाँका समस्या, सम्भावना, चुनौती र अवसरबारे सरकारलाई अवधारणापत्र दिइएको बताउनुभयो ।

 

 

 

९ फाल्गुन २०८०, बुधबार १४:२८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस