यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ। बागमती प्रदेश सरकारले ‘सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका २०८०’ स्वीकृत गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्देशिका स्वीकृत गरेको हो ।
निर्देशिका स्वीकृत भएसँगै बागमती प्रदेशका प्रत्येक मन्त्रालयले गर्ने विकास निर्माणलगायत सबै काममा मानव स्वास्थ्यलाई विशेष ख्याल राख्नुपर्ने भएको छ । स्वास्थ्यमन्त्री उत्तम जोशीले ‘सबै नीतिमा स्वास्थ्य नीति’ लागू गर्ने योजनाले सार्थक रूप लिएको र अब प्रत्येक मन्त्रालयका नीति निर्माणमा स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
मानव स्वास्थ्य र रोगमा स्वास्थ्य क्षेत्रका सामाजिक निर्धारकहरूको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गर्दै उहाँले भन्नुभयो, “मानव स्वास्थ्यलाई असर गर्न सक्ने स्वास्थ्यका सामाजिक निर्धारकहरूमा गैरस्वास्थ्य क्षेत्र र विषयहरूले प्रत्यक्ष वा अप्रत्यक्ष सरोकार राख्ने भएकाले यो नीति लिइएको हो ।” स्वास्थ्य क्षेत्र एक्लैको प्रयासबाट मात्र स्वास्थ्यका सामाजिक निर्धारकहरुलाई सम्बोधन गरी नागरिकलाई स्वस्थ राख्न र रोगमुक्त बनाउन कठिन भएकाले स्वास्थ्य सेवा प्रवाहमा बहुक्षेत्रीय तथा बहुपक्षीय समन्वय, सहकार्य, साझेदारी र सहभागितामा स्वास्थ्यसँग सम्बन्धित विभिन्न कार्यक्रम, योजना, कार्यान्वयन र अनुगमन गर्न आवश्यक रहेको उहाँको भनाइ थियो ।