यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । राष्ट्रिय गौरवको आयोजना तमोर ‘कोरिडोर’बाट मित्रराष्ट्र भारत र चीन जोडिएका छन् । गत मङ्गलबार साँझ टिप्ताला नाका हुँदै चीन जोडिने सडक ‘ब्रेक थ्रु’ भएपछि तमोर कोरिडोरबाट चीन र भारत जोडिएका हुन्
मित्र राष्ट्र चीनले चार वर्षअगाडि नै समुद्र सतहदेखि पाँच हजार दुई सय मिटर उचाइमा टिप्ताला नाका हुँदै फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुङगोला क्षेत्रमा सडक विस्तार गरेको थियो । ओलाङचुङगाला हुँदै सेराप बगरसम्म ‘ट्र्याक’ खोल्ने काम चीनको निर्माण कम्पनीले गरेको थियो । नेपाल र चीनको नाकाबाट नेपालतर्फ ३५ किलोमिटर क्षेत्रमा ट्रयाक खोलिएको थियो ।
नेपालतर्फ सुनसरीको चतरादेखि खोल्दै लगिएको ट्र्याक यसअगाडि चीनले खोलेको ट्र्याकमा गत मङ्गलबार साँझ जोडिएको उत्तर दक्षिण मूलघाट–दोभान–ओलाङचुङगोला सडक आयोजनाका प्रमुख अमिन्द्र खड्काले बताए । तमोर नदीको उद्गमस्थल तिप्तला नाकाबाट धनकुटाको मूलघाट हुँदै तमोर किनारैकिनार बनेको सडक भारतसँग जोडिन्छ । उत्तर दक्षिण मूलघाट–दोभान–ओलाङचुङगोला सडक आयोजनाअन्तर्गत सञ्चालित सडकको ट्रयाक खोलिएको आयोजना प्रमुख खड्काले बताए । आयोजनाका अनुसार सडक निर्माण काठमाडौँको एसबीए एलाइट जेभीले गरेको हो ।