यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । नेपाल टेलिकमले ३४ वटा विमानस्थलमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । नेपालभित्र सञ्चालनमा रहेका ३४ वटा विमानस्थलमा फ्री वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउने टेलिकमले जनाएको छ ।
नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच हिजो निःशुल्क इन्टरनेट सेवाबारे सहमति भएको हो । सहमतिपत्रमा टेलिकमका तर्फबाट प्रमुख व्यावसायिक अधिकृत विनिता श्रेष्ठ र प्राधिकरणका तर्फबाट उपमहानिर्देशक जगन्नाथ निरौलाले हस्ताक्षर गर्नुभएको छ ।
सहमतिअनुसार टेलिकमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनलतर्फ आगमन र प्रस्थान कक्षमा फ्री वाइफाइ नेटवर्क जडान गर्नेछ भने नेपालभित्र सञ्चालित अन्य विमानस्थलहरुमा चरणबद्ध रुपमा फ्री वाइफाइ इन्टरनेट सेवा सञ्चालन गर्नेछ ।
त्यसैगरी विमानस्थलभित्र यात्रुलाई सजिलो हुने गरी उपयुक्त ठाउँमा कम्पनीका सेवासम्बन्धी जानकारी उपलब्ध गराउनका लागि सूचना तथा सहायताकक्ष स्थापना गरिने टेलिकमले निकालेको विज्ञप्तिमा उल्लेख छ ।