|  

जापान नेपालको हितैषी मित्र र भरपर्दो विकासको सहयात्रीः राष्ट्रपति पौडेल

१३ फाल्गुन २०८०, आईतवार १४:४६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं राष्ट्रपति रामचन्द्र पौडेलले जापान नेपालको एक हितैषी मित्र हुनुका साथै नेपालको एउटा दिगो र भरपर्दो विकासको सहयात्री पनि भएको बताउनु भएको छ ।

नेपाल जाइका अलमनाई एसोसियसन जान को ५०औं वार्षिक समारोहको उदघाट्न गर्दै राष्ट्रपति पौडेलले नेपालको प्राविधिक जनशक्ति विकास, जलविद्युत, शिक्षा, स्वास्थ्य, सञ्चार, सडक निर्माण, कृषि क्षेत्र र पूर्वाधार विकासका क्षेत्रमासमेत जापानले पुर्‍याएको योगदानको नेपालले सदैव उच्च मूल्यांकन गरेको बताउनुभयो ।

राष्ट्रपति पौडेलले भन्नुभयो, ‘मुलुकमा भएको राजनीतिक परिवर्तनपछि नेपालमा सामाजिक, आर्थिक, सांस्कृतिक तथा विकासका अन्य क्षेत्रहरूमा समेत प्रगति भैरहेको छ । यस प्रक्रियामा जापान सरकारको सहयोग र सद्भाव विगतमा जस्तै आगामी दिनमा हाम्रा लागि महत्त्वपूर्ण रहने छन्’ ।

नेपाल र जापानबीच परम्परागत रुपमा सुमधुर सम्बन्ध रहँदै आएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले एसियाको एक समृद्घशाली प्रजातान्त्रिक मुलुक जापानले विज्ञान प्रविधिको क्षेत्रमा मात्र नभएर आर्थिक, सामाजिक क्षेत्रका साथै समग्र मानव विकासमा मारेको फड्को अनुकरणीय रहेको बताउनुभयो ।

कार्यक्रममा मुख्य सचिव बैकुण्ठ अर्यालले एसियामा जापान विज्ञान प्रविधि मात्र नभई आर्थिक, सामाजिक क्षेत्रको विकासमा पनि ठूलो फड्को मारेको मुलुक भएको बताउनुभयो । साथै नेपालका महत्वपूर्ण आयोजनामा जापान सरकारको सहयोग रहेको बताउनुभयो ।

यसैगरी कार्यक्रममा नेपालका लागि जापानी राजदूत युताका किकुताले विगत पाँच दशकदेखि जानले नेपाल जापान बीचको सम्बन्ध मजबुत बनाउन योगदान पुर्‍याएको बताउनुभयो ।

 

१३ फाल्गुन २०८०, आईतवार १४:४६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस