यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
फागुन १५, काठमाडौँ । टी– २० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल आज नामिबियासँग खेल्दैछ । विश्वकप लिग–२ को समापनपछि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले नामिबियासँग खेल्न लागेको हो ।
खेल त्रिवि क्रिकेट मैदानमा बिहान साढे ११ बजे हुने छ । आइसीसी क्रिकेट विश्वकप लिग–२ को समापनपछि नेपाल, नामिबिया र नेदरल्यान्ड्सले टी–२० सिरिजमा प्रतिस्पर्धा गर्न लागेका हुन् । नेपालले आगामी जुनमा हुने टी–२० विश्वकपको तयारीको सुरुवातको रुपमा यो सिरिजलाई लिएको छ ।
यस सिरिजका लागि नेपालले १८ सदस्यीय टोली घोषणा गरेको छ । ओडीआई टोलीका देव खनाल, भीम सार्की, सूर्य तामाङ र पवन सर्राफलाई टोलीमा राखिएको छैन । प्रतिश जिसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, राशीद खान, सागर ढकाल र अभिनाश बोहोरा भने टोलीमा थपिएका छन् । नामिबिया र नेदरल्यान्ड्स पनि विश्वकप खेल्दैछन् । नेपाल र नेदरल्यान्ड्स एकै समूहमा छन् ।