यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । नेपालमा पछिल्लो समय क्यान्सर रोग बढ्दो क्रममा छ । क्यान्सर रोगका कारण प्रत्येक दिन ४० जना नेपालीको मृत्यु हुने गरेको छ । यसमध्ये दैनिक १२ देखि १४ जना खानपानकै कारण क्यान्सर भएर मृत्यु हुने गरेको क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीले बताए ।
विभिन्न प्रकारका रङ प्रयोग गरिएका खानेकुरा, पोलेको, तारेको, भुटेको परिकारका कारण पनि क्यान्सर हुन सक्ने चिकित्सकहरू बताउँछन् । स्वास्थ्यका लागि घातक हुने रङ प्रयोग गरिएको भन्दै पछिल्लो समय कटन क्यान्डी उत्पादन, बिक्री वितरणमा विभिन्न क्षेत्र तथा पालिकामा रोक लगाइएको छ । तनहुँ जिल्ला प्रशासन कार्यालय, चाँगुनारायण नगरपालिका, काठमाडौँ महानगरपालिका लगायतले सूचना जारी गरी कटन क्यान्डी बिक्री वितरणमा रोक लगाएका हुन् ।
खासगरी बालबालिकाले रुचाउने कटन क्यान्डी विभिन्न सार्वजनिक स्थल, सडक पेटी, बजार, मेला लगायतका स्थानमा खुला रूपमा बिक्री वितरण हुने गर्दछ । कटन क्यान्डीमा मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने अखाद्य रङ ‘रोडा माइन बी’ को प्रयोग हुने गर्दछ, जो स्वास्थ्यका लागि निकै घातक हुने विज्ञ बताउँछन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले स्थानीय तहसँग सहकार्य गरी त्यस्ता खाद्यवस्तुबारे अनुगमन भइरहेको जानकारी दिए ।