यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । नेपालमा १६ वर्षमुनिको साफ महिला च्याम्पियनसिप आजदेखि शुरु हुँदैछ । यसअघि १५ वर्षमुनिको उमेर समूहमा आयोजना हुँदै आएको प्रतियोगिता यो संस्करणदेखि १६ वर्षमुनिको उमेर समूहमा खेलिन लागेको हो ।
प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका भारत, बंगलादेश र भुटान सहभागी छन् । नेपाली १६ वर्षमुनिको महिला टोलीका मुख्य प्रशिक्षक चक्र तामाङ हुनुहुन्छ । नेपाल प्रतियोगिताको साविक विजेता हो । सन् २०२२ मा बंगलादेशमा भएको प्रतियोगितामा नेपालले बंगलादेशलाई पराजित गर्दै पहिलोपटक उपाधि जितेको थियो ।
सिंगल राउण्डमा हुने प्रतियोगितामा सहभागी प्रत्येक टिमले एक–आपसमा खेल्नेछन् । लिग चरणका ६ खेलपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । प्रतियोगिताका सबै खेल सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा हुनेछन् ।
प्रतियोगिताको उद्घाटन खेलमा आज भारत र भुटान खेल्दैछन् । घरेलु टोली नेपालले पहिलो खेलमा भोलि बंगलादेशसँग खेल्दैछ । प्रतियोगिताका सबै खेल दिउँसो ३ बजेदेखि हुनेछन् । फाइनल खेल यही फागुन २७ गते हुनेछ ।