यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
धादिङ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङको १५ शय्याको अस्पताल स्वीकृति छ । तर बेड छैन । वहिरंग उपचार सेवा संचालनमा छ । एकजना बिरामी भर्ना गर्न सकिने अवस्थामा कुनैपनि संरचना र श्रोत साधन नभएकोले अस्पताल भएरपनि भर्ना गरेर उपचार गर्न नपाएको कार्यालय प्रमुख डा. अमूल्य दहालले बताउनुभयो ।
आयुर्वेद स्वास्थ्य केन्द्र धादिङले जिल्लाका पत्रकारहरुसंग आयुर्वेद सेवा प्रवर्द्धन गर्न अन्तरक्रिया कार्यक्रम आयोजना गरी सेवा प्रवाहका बारेमा जानकारी दिएको छ ।
कार्यक्रममा आयुर्वेद सेवातर्फ सेवाग्राहीको आर्षण बढेको र धादिङमा दैनिक ८० भन्दा बढीले सेवा लिने गरेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. अमूल्य दहालले बताउनुभयो ।
आयुर्वेद सेवामा उपचारात्मक र प्रवर्धनात्मक सेवा संचालन गरिएको बताउँदै डा. दहालले १५ शय्याको अस्पताल भनिए पनि एकजना पनि भर्ना गरेर राख्न मिल्ने अवस्था नभएको बताउनुभयो ।
धादिङमा आयुर्वेद वहिरंग सेवा ४ हजार ३९६ जना, ज्येष्ठ नागरिक १ हजार १११ जना, स्तनपायी आमा ८६ जना, पुर्वकर्म÷ पंचकर्म २ हजार ६३६ जना, प्याथोलोजी ल्याव ७ सय ३७ जना, अकुपन्चर सेवा ८ सय ५ जना, फिजियोथेरापी सेवा ८ सय १ जना, नागरिक आरोग्य सेवा केन्द्र ३ हजार ७५७ जना गरि १४ हजार ३ सय ९२ जनाले ६ महिनाको अवधिमा सेवा लिएको तथ्यांक सार्वजनिक गरिएको छ ।