यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । सत्ता गठबन्धनमा हेरफेर भई मन्त्रिमण्डल विस्तार जारी रहेकाले चलिरहँदा मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा चहलपहल कम भएको छ ।
राजनीतिक भेटघाट र वार्ता प्रधानमन्त्री निवास बालुवाटार, विभिन्न पार्टीका कार्यालय र शीर्षनेताका निवासमा बढेपछि सिंहदरबारमा प्रायः लाग्ने भीडभाड पातलिएको छ । अन्य समयमा सिंहदरबार छिर्ने ढोकामा कार्यालय आउने र जाने समयमा प्रवेश पास जाँच गर्न सुरक्षाकर्मीलाई भ्याइनभ्याइ हुने गरेकामा त्यो भिड अहिले कम भएको छ ।
सिंहदरबारस्थित मन्त्रालयमा विभागीयमन्त्री नहुँदा भेटघाट तथा नीतिगत निर्णय नहुने भएकाले चहलपहल कम भएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले राजनीतिक हेरफेर र विभागीयमन्त्री नभएका कारण नीतिगत निर्णयहरू हाल नभएको बताए ।