|  

बेनी–जोमसोम–कोरला सडक अन्तर्गत तिप्ल्याङमा घरटहरा भत्काउन थालियो

२३ फाल्गुन २०८०, बुधबार १५:२५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ। राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङमा सडकमा पर्ने घरटहरा हटाउन थालिएको छ । बेनी–जोमसोम–कोरला सडक योजनाले तिप्ल्याङस्थित सडक छेउछाउमा पर्ने घरटहराको क्षतिपूर्ति बुझ्न र संरचना यही फागुन २५ गतेभित्र हटाउन फागुन ११ गते १५ दिने सार्वजनिक सूचना जारी गरेको थियो ।

सम्बन्धित घरधनीले घरटहरा र गोठहरूको क्षतिपूर्ति बुझेर संरचना हटाउन थालेका बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख ध्रुव झाले बताए ।

सडक छेउमा दुवैतर्फ नाली निर्माण गर्नुपर्ने भएकाले २० वटा घरटहरा, गोठहरूको क्षतिपूर्तिका लागि दुई वर्षअघि सिफारिस गरिएको थियो । गलेश्वरबाट तातोपानी खण्डको अधिकांश ठाउँमा सडक विस्तार र संरचना निर्माणको काम सकेर कालोपत्रको तयारी गरिए पनि तिप्ल्याङ खण्डमा करिब सात सय मिटर सडक विस्तार तथा नाली निर्माणको काम रोकिएको थियो ।

स्थानीयवासीको मागअनुसार प्राविधिक टोलीले पुनःमूल्याङ्कन र क्षतिपूर्तिको रकम संशोधन गरिएको हो । दायाँ र बायाँतर्फ नाली हुने सडक १२ दशमलव पाँच मिटर फराकिलो बनाउन संरचना भत्काउन लागिएको आयोजना प्रमुख झाले बताउनुभयो । राहुुघाटबाट बेगखोला–तिप्ल्याङ–पोखरेबगर हुँदै भुरुङ तातोपानी खण्डमा पहिरो र नदी कटानको जोखिमयुक्त ठाउँबाहेक करिब १५ किलोमिटर दूरीमा कालोपत्र गर्न थालिएको छ ।

 

 

२३ फाल्गुन २०८०, बुधबार १५:२५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस