|  

महिला सहभागिता र समानताका लागि नीतिगत व्यवस्थै छ : प्रधानमन्त्री दाहाल

२५ फाल्गुन २०८०, शुक्रबार १५:१७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाको हक, हित र अधिकारको संरक्षण एवं प्रवर्द्धन, महिला सहभागिता, सशक्तीकरण र समानताको लागि सरकारले नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था गरेको बताएका छन्।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा प्रधानमन्त्रीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, महिला अधिकारकर्मीलगायत महिला हक अधिकारको संरक्षण र प्रवर्द्धनका क्षेत्रमा क्रियाशील सम्पूर्ण सङ्घसंस्था तथा व्यक्तिहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

नेपालको संविधानले महिलाको हकलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको, राष्ट्रपति, उपराष्ट्रपतिदेखि स्थानीय सरकार तथा राज्यका सम्पूर्ण अङ्गमा महिलाहरूको अर्थपूर्ण प्रतिनिधित्व र नेतृत्व स्थापित गरेको, सम्पत्तिमा समान अधिकारको प्रत्याभूति, प्रतिस्पर्धात्मक क्षमताको विकास, आत्मनिर्भरता, रूढीवाढी चिन्तन र मान्यतामा गुणात्मक हेरफेर आएको सन्देशमा प्रधानमन्त्रीले उल्लेख गरे।

महिलाको राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक हक अधिकार सुनिश्चित गर्न आफ्नो जीवन अर्पण गर्नुहुने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री दाहालले देशको समृद्धिमा महिलाको योगदानको कदर गर्दै राज्यका विभिन्न संरचनामा महिलाको भूमिका विस्तार गर्न सरकारले विशेष जोड दिएको बताएका छन्।

शिक्षा, स्वास्थ्य, रोजगारी, गरिबी निवारण, जीविकोपार्जनमा सुधार, सामाजिक सुरक्षा, पूर्वाधार तथा प्रविधिमा पहुँचलगायत विषयमा महिला लक्षित कार्यक्रमहरूमा लगानीलाई थप प्रभावकारी बनाउन आवश्यक भएको उल्लेख गर्दै प्रधानमन्त्रीले महिलाको अर्थपूर्ण सहभागिता, प्रतिनिधित्व र नेतृत्व विकासमा जोड दिएका छन्। उनले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद र शोषणको अन्त्य गर्न जरुरी भएको, महिलाको समान अग्रसरता र नेतृत्वदायी भूमिका स्थापित गर्दै स्रोत, साधन, अवसर तथा लाभमा समान पहुँच सुनिश्चित गर्न र समानताको व्यावहारिक प्रत्याभूति दिलाउन आवश्यक भएको सन्देशमा उल्लेख गरेका छन्।

 

२५ फाल्गुन २०८०, शुक्रबार १५:१७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस